नागरिकताका लागि बुबासँग छोरीको अनुनय, सम्पत्ति हडप्न खोजेको पिताको आरोप

नागरिकताका लागि बुबासँग छोरीको अनुनय, सम्पत्ति हडप्न खोजेको पिताको आरोप
सुन्नुहोस्

आमा धर्ती हुन् भने बुबा आकाश । हरेक सन्तानलाई आमाबुबाको माया र साथ चाहिन्छ । आमाबुबालाई यस जगतका जिउँदा भगवान् मानिन्छ । आमाबुबाको छत्रछाँयामा हरेक सन्तानले आफूलाई सुरक्षित महशुस गर्दछन् । 

तर, उनीहरु कठोर बनिदिँदा बालबच्चाले धेरै दुःख पाएका उदाहरण पनि छन् । १८ वर्षीया कृपा सोनी आमाबुबा भएर पनि बेसहारा देखिन्छिन् । प्रेम सम्बन्धबाट जन्मिएकी उनले बुबाआमाको काख र साथ कहिले देख्न पाइनन् । सुर्खेत निवासी उनलाई बुबाले छोरी नै स्वीकारेका छैनन् । 

उनी सानै हुँदा आमा पनि अर्कैसँग विवाह गरेर गइन् । उनको बालापन जसोतसो आफन्तको घरमा बित्यो । १८ वर्ष पुगेकी उनको अहिले खानेबस्ने ठाउँको ठेगान छैन । नागरिकता चाहिएपछि बुबाको खोजीमा हिँडेकी उनले घरको वातावरणका कारण बीचमै पढाइ छोड्नुपर्ने अवस्था बनेको छ । 

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा जन्मिएकी उनको अस्पतालको जन्म प्रमाणपत्रमा पिताको नाम कुबेर सोनी लेखिएको छ । कुबेरकै नामबाट उनको जन्मदर्ता बनेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ ले दिएको जन्मदर्ता प्रमाणपत्रमा पिताको नाम कुबेर र आमाको नाम सोनु सिंह उल्लेख छ । 

जन्मदर्ता र अस्पतालको प्रमाण पत्र भएपनि उनले नागरिकता पाउन सकेकी छैनन् । कृपाका अनुसार उनकी आमा दुई वर्ष नेपालगञ्ज बसेर सुर्खेत गएकी हुन् । आफू ११ वर्षको हुँदा आमाले दोस्रो विवाह गरेको उनको भनाइ छ । सानीआमासँग नागरिकता माग्न जिल्ला प्रशासन कार्यालय, बाँके आएकी उनी निराश बनेकी हुन् । नागरिकताका लागि वडा कार्यालयले सिडियो कार्यालयलाई सिफारिस गर्नुपर्छ ।

तर, आमाबुवाको विवाह दर्ता नहुँदा र बुबाले आफ्नै छोरी भनेर सनाखत नगर्दा उनी नागरिकता पाउनबाट वञ्चित भएकी छिन् । भन्छिन्,‘मेरो आमाबुबाको विवाह नै भएको थिएन । केबल प्रेम सम्बन्धमा हुनुहुन्थ्यो । सोही प्रेम सम्बन्धबाट मेरो जन्म भयो । बुबा मलाई छोरी भनेर सकार्न तयार हुनुहुन्न । मैले एकाध पटक उहाँलाई होटलमा भेटेँ । भेट्दा बनाइदिन्छु भन्नुहुन्छ, पछि सम्पर्कमा आउनुहुन्न । प्रशासन, अदालतमा मलाई चिन्नुहुन्न ।’

सुर्खेतमा बस्दै आएकी उनी २०७९ फागुनदेखि नेपालगञ्ज आइन् । तर, अहिलेसम्म उनको हातमा नागरिकता पर्न सकेको छैन । उनले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा आमाविरुद्ध जाहेरी दिएकी छन् । 

कानुन व्यवसायीको सल्लाहमा उनले सुर्खेत जिल्ला अदालतमा कुबेरविरुद्ध अंश मुद्दा पनि दर्ता गरेकी छन् । जबकी उनीसँग नाता प्रमाणितको कुनै प्रमाण नै छैन । आमाबुवाको अभावमा हुर्किएकी कृपा अहिले बुबासँग आफ्नो पहिचान स्थापित गर्ने लडाइँमा होमिएकी छन् । आफ्नै बुबाले स्वीकार गर्न नमानेपछि उनी न्याय खोज्दै विभिन्न सरोकारवाला निकाय धाइरहेकी छिन् । 

नेपालगञ्जका प्रतिष्ठित व्यवसायी कुबेरले कृपालाई नचिन्ने बताउँदै आएका छन् । कक्षा ८ मा पढ्दै गरेकी उनमा मानसिक समस्या देखा परेको छ । ‘कि मलाई नागरिकता दिनुपर्यो, कि बुबा बिनाकी छोरी हुँ भन्ने प्रमाण । म नागरिकताका लागि सबैतिर धाएँ । जिल्ला प्रशासन कार्यालय, बाँकेले वडाको सिफारिस लिएर आउनु भनेपछि त्यहाँ गए । वडाले विवाह दर्ता ल्याउनु भन्यो । जुन मबाट सम्भव छैन् । त्यसपछि न्यायका लागि नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समिति गुहारेकी छु’, उनले दुःखेसो पोखिन् । 

उपमहानगरको न्यायिक समितिमा कार्यरत कानुन अधिकृत माया शर्माले कुबेरलाई बोलाएर छलफल गरेको बताइन् । कुबेरले कृपालाई छोरी स्वीकारेर नागरिकता दिलाइदिने मौखिक प्रतिबद्धता जनाएपछि सम्पर्कमा नआएको उनको भनाइ छ । समितिबाट पनि आफ्नो समस्या समाधान हुने छाँटकाँट नदेखिएपछि कृपा सानीआमा लिएर महिला जागृति सेल पुगेकी हुन् । 

सेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठले उनको समस्या समाधानका लागि पहल गरिरहेको जानकारी दिइन् । केही दिनअघि अधिकारकर्मीको टोली नेपालगञ्ज उपमहानगर नै पुगेको थियो । मेयर प्रशान्त विष्टले न्यायिक समितिमा दुवै पक्षलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता जनाएका थिए । 

यता, वडा नम्बर ६ का वडाध्यक्ष समिरप्रताप सिंहले युवतीका पिताले सनाखत नगरेसम्म सिफारिस गर्न नसकिने बताए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले स्थानीय तहबाट सिफारिस नआएसम्म नागरिकता दिन नसक्ने जनाए । कुबेरले भने आफूलाई फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘ऊ मेरी छोरी होइन । मेरो सम्पत्ति हडप्नका लागि मलाई फसाउन खोजिएको हो ।’

टिप्पणीहरू