मातातीर्थमा देखियो चुस्त व्यवस्थापनको अभाव

मातातीर्थमा देखियो चुस्त व्यवस्थापनको अभाव
सुन्नुहोस्

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । सन्तानको सृष्टिकर्ता, ममताको खानी आफ्नी आमाको मुख हेरेर औँसी मनाइएको छ । आमा बितेकाहरुले दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरेका छन् ।  

आजको दिन मातृश्राद्ध गरे पुण्य प्राप्त हुने र आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ । मातातीर्थ औँसीको अवसरमा काठमाडौंको चन्द्रागिरी नगरपालिका ६, मातातीर्थ कुण्डमा आज बिहानैदेखि मेला लागेको छ । भक्तालुहरुको भीड र अव्यवस्थापनका कारण जताततै फोहोर थुप्रिएको छ ।

कुण्डमा स्नान गरेर पूजापाठ गरेकामध्ये धेरैले दिवंगत आमाको नाममा पिण्डदान गरेका छन् । व्यवस्थापन फितलो हुँदा मातातीर्थ कुण्ड नै कुरुप देखिएको छ । पूजापाठमा प्रयोग गरिएका सामाग्री, टपरी, फलफूल, नैवेद्यलगायत कुण्डमा चढाउँदा त्यस्तो अवस्था बनेको बताइन्छ ।

धर्मकर्म र संस्कारको नाममा जथाभावी चढाइने त्यस्ता सामाग्रीले नदीनाला प्रदूषित हुने गरेको छ । यसले खानेपानीको मुहान फोहोर हुने निश्चित छ । खोलानालाको सरसफाइ र संरक्षण गर्नु हामी सबैको दायित्व हुन आउँछ ।

सामाजिक सञ्जालमा मातातीर्थ कुण्डमा आज देखिएको अव्यवस्थापनबारे डा. अरुणा उप्रेतीले आफ्नो फेसबुक पेजमा कुण्डको तस्बिर सेयर गरेकी छन् । डा. उप्रेतीले लेखेकी छन्,‘आज मातातीर्थ औँसीः मातातीर्थ कुण्डमा स्नान गर्नेको भीड । यस्तो फोहोर गरेर के मातालाई सम्मान आदर गरेको हुन्छ र ?’

उनको उक्त स्टाटस्मा थुप्रै प्रतिक्रिया आएका छन् । एक जनाले भनेका छन्,‘समस्या संस्कारमा होइन्, मानिसको व्यवहारको हो । फोहोर भएपछि सफा गर्ने कर्तव्य बोध गरौं ।’ 

त्यस्तै, अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेको स्टाटस् यस्तो छ,‘हरे ! बरु त्यहाँ बगाउने कुरा गरिबलाई दिए आमाले पाउँथिन् होला !’

टिप्पणीहरू