शीतल निवासका सल्लाहकारको बर्खास्ती माग

शीतल निवासका सल्लाहकारको बर्खास्ती माग

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरिएको छ । एक सय रुपैयाँ दरको नयाँ नोटमा चुच्चे नक्सा समावेश गर्ने सरकारको निर्णयको विरोध गरेर विवादमा परेका उनलाई सल्लाहकार पदबाट हटाउनुपर्ने माग चर्केको छ ।

पूर्वमन्त्री एवम् भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेल, लेखक तथा पत्रकार कनकमणि दीक्षितलगायतले आज संयुक्त वक्तव्य जारी गर्दै सल्लाहकार नेपालको बर्खास्तगीको माग गरेका हुन् । 

‘राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई अन्तर्राष्ट्रिय मान्यता विपरित र अविवेकी भन्ने सल्लाहकार चिरञ्जिवी नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको भनी हामी बुझ्न बाध्य छौं’, वक्तव्यमा भनिएको छ, ’...साथै सल्लाहकार चिरञ्जीवी नेपाललाई तत्काल पदबाट हटाउन माग गर्दछौं ।’ 

सल्लाहकार नेपालले केही दिनअघि बीबीसीसँगको अन्तर्वार्तामा एक सय दरको नोटमा अबदेखि पुरानो बुच्चेको सट्टा चुच्चे नक्सा राख्ने सरकारको निर्णयलाई असान्दर्भिक र अविवेकी भनेका थिए ।

नेपाल पूर्व गभर्नरसमेत हुन् । उक्त दरको नोटमा नेपालको नक्सा राख्ने सरकारको निर्णयलाई कार्यान्वयन उनी नेपाल राष्ट्र बैंकको गभर्नरमा छँदा भएको थियो ।

टिप्पणीहरू