रोहिणीको भेलमा दीपक बोहोरा ‘ब्याक’, चण्डिकाको ‘कमब्याक’ !

रोहिणीको भेलमा दीपक बोहोरा ‘ब्याक’, चण्डिकाको ‘कमब्याक’ !

रुपन्देहीमा नदीजन्य पदार्थको उत्खननमा पुनः चलखेल शुरु भएको छ । सियारी गाउँपालिकाको नदीमा मेसिन प्रयोग नगर्ने घोषणा गरेका अध्यक्ष थानेश्वर घिमिरेले नै अनधिकृत तवरले एकैपटक आधा दर्जन मेसिनले नदीजन्य पदार्थको उत्खनन गरिरहँदा पनि नजरअन्दाज गरेको पाइएको छ । 

अध्यक्ष घिमिरेले निर्वाचन प्रचारको समयमा लिखित घोषणा गर्दै नदीमा मेसिन प्रयोग नगर्ने, स्थानीय घरेलु औंजार मात्रै प्रयोग गरेर कानुनसम्मत बालुवा, ढुंगा गिटी उत्खनन् गर्ने बताएका थिए । त्यसबाट रोजगारी सृजना हुने उनको प्रतिबद्धता थियो । तर त्यो बेलाको प्रतिबद्धता यतिखेर तिनाउको बगरमा दिनहुँ बगिरहेको छ । 

धनसार नाकामा ठेकेदारले जथभावी उत्खनन गरेको गुनासो पुगेपनि अध्यक्ष घिमिरेले मौनता साँधेका छन् । सियारीमा अध्यक्षले प्रतिबद्धता भुलिरहँदा तिलोत्तमा नगरपालिकामा भने आफू अनुकूलको ठेकेदारलाई ठेक्का मिलाउन कानुन मिच्ने प्रयास भएको बताइन्छ । 

बुटवल उपमहानगरपालिकामा पनि परियोजनाको नाममा नदीजन्य पदार्थ उत्खनन्को ठेक्कामा सेटिङ भएको खबर जनआस्थामा प्रकाशित भएपछि सार्वजनिक टेण्डर आह्वान गरिएको छ ।

तर, तिलोत्तमाले भने गोरगट्टा, डिंगरनगर, हात्तिसार, हरपुर घाटमा सेटिंगमा ठेक्का दिन थालेको पाइएको छ । नदीजन्य पदार्थ उत्खनन् गर्न इजाजत प्राप्त निर्माण व्यवसायी वा ढुंगा गिटी, बालुवा सप्लायर्सलाई ठेक्का आह्वान गरिएको भएपनि नियमविपरित कागजात नपुगेको फर्मलाई ठेक्का दिन थालिएको छ । यसअघिको मापदण्डलाई लत्याउँदै नगरपालिकाले आफूखुशी ठेक्का दिएको स्रोतको दाबी छ । 

यसैगरी नेपाल आयल निगमको तेल भण्डारका लागि रोहिणी नदीको बगरमा निर्माण थालिएको भण्डारण गृहको निर्माण भन्दै नदीजन्य पदार्थ जथाभावी उत्खनन गरिएको छ । भैरहवा–परासी राजमार्गको रोहिणी पुल नजिकै मापदण्ड विपरित बालुवा र भस्कट निरन्तर निकालिएको सजिलै देख्न सकिन्छ । सरकारी परियोजनाको नाममा नदीजन्य पदार्थ उत्खननन गरिँदा स्थानीय प्रशासन र प्रहरी मुकदर्शक बस्नुलाई अर्थपूर्ण ठानिएको छ । 

यतिखेर निगमले इञ्जिनियर प्रदीप यादवलाई परियोजना प्रमुखको जिम्मेवारीसहित भैरहवामा खटाएको छ । उक्त आयोजनाको काम अघि बढाउँदा स्थानीय र मिडियाले चर्को विरोध गरेपछि रोहिणी क्षेत्रकै नेता तत्कालीन विभागीय मन्त्री दीपक बोहोरा पछि हटेका थिए । उनी ‘ब्याक’ भएपनि आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भने जसरी पनि काम अघि बढाउने प्रयत्नमा लागेका थिए । सोही कारण खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दोषी करार समेत भइसकेका छन् । 

तत्कालीन मन्त्री बोहोरा पछाडि हटेको, खड्का अख्तियारबाट दोषी करार भइसकेको आयोजनामा निगमका नवनियुक्त कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट भने जसरी पनि काम फत्ते गर्ने योजनामा अघि बढेको देखिन्छ । स्थानीयको भनाई छ, ‘दीपक बोहोरा ब्याक भएको काममा चण्डिकाले कसरी हात हाले ?’

स्थानीयसमेत रहेका पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता अब्दुल रज्जाक नदी किनारमा तेल भण्डारण बनाउने कार्यको विपक्षमा उभिएका छन् । उनले स्थानीयहरुसँगै केही हप्ताअघि बगरमै पुगेर काममा अवरोध पुर्याएका थिए । तर आयोजना प्रमुख यादवको दबाब र प्रभावको अघिल्तिर सबैजसो सरोकारवाला निकाय ‘तैं चुप मैं चुप’ को अवस्थामा पुग्नुलाई रहस्यमय ठानिएको छ ।

टिप्पणीहरू