पूर्वतिर यसकारण केही दललाई दाँतमा ढुंगा

पूर्वतिर यसकारण केही दललाई दाँतमा ढुंगा

इलाममा भएको उपनिर्वाचन सबै दल २०८४ को निर्वाचनका लागि सकारात्मक सन्देश दिनेगरी परिणाम ल्याउने दाबीसहित चुनावी मैदानमा ओर्लिएका थिए । निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङले सहज तवरले जीत हात पारेका छन् । उनी संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्बाङका कान्छा सुपुत्र हुन् । 

नेपाली काँग्रेसका डम्बर खड्कासँग यसअघिको निर्वाचनमा सुवासचन्द्र नेम्बाङले ११४ मतको झिनो अन्तरले जितेका थिए । तर, छोरा सुहाङले ५८ सय ३० को फराकिलो अन्तरले उनै ख्डकालाई पराजित गरे । तर उपनिर्वाचन केही दलका लागि भने दाँतमा ढुङ्गा लागे जस्तै भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी (एस) को राजनीतिक बिजोग नै देखियो । रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत भयो भने एसले २०७९ मा ल्याएको समानुपातिकको मत समेत जोगाउन सकेन । एसले २०७९ को निर्वाचनमा गठबन्धन भएकाले आफ्नो उम्मेदवार नहुँदा पनि समानुपातिकतर्फ ५ सय ८६ मत ल्याएको थियो । 

तर, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईलाई उठाएको एसले यस पटक ४०८ मत मात्र ल्याउन सक्यो । उक्त मत राईसँग मात्र नभएर पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग पनि जोडिएकाले यसलाई अर्कै कोणबाट आलोचना गर्नेहरु पनि निकै छन् ।
खनालको आफ्नो जिल्ला मात्र नभएर उपनिर्वाचन भएको क्षेत्रमा उहाँको घर पनि छ । राईलाई सघाउन स्वयम् खनाल पनि चुनावअघि इलाम पुग्नुभएको थियो । खनालकै घर रहेको वडा इलाम नगरपालिका–१, साखेजुङबाट एसलाई आठ मत मात्र प्राप्त भयो । जहाँ नेकपा एसले एक वडा सदस्य समेत जितेको छ । 

चुनावलाई लक्षित गरेर दुई महिनाअघि मात्र साखेजुङमा रहेको रत्न वान्तावा बहुप्राविधिक शिक्षालयको समेत खनालले पूर्व प्रधानमन्त्रीको हैसियतले उद्घाटन गर्नुभएको थियो । २०७९ को निर्वाचनमा इलाम क्षेत्र नम्बर १ मा गठबन्धनको साझा उम्मेदवार बनेर खनाल नेकपा एमालेका महेश बस्नेतसँग २५ सयभन्दा बढी मतान्तरले पराजित हुनुभएको थियो ।

रास्वपा यो उपनिर्वाचनमा निकै उत्साहित भएर लागेको थियो । आफ्ना सारा सामाथ्र्य लगाए पनि निर्वाचन परिणाम भने निराशाजनक हात पर्याो । रास्वपाका सबै पदाधिकारी, मन्त्रीहरुको उपस्थितिमा निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सभा मात्र होइन घरदैलो अभियाननै चलाइएको थियो । तर, तेस्रो स्थान प्राप्त भएको छ ।

२०७९ को निर्वाचनमा समानुपातिकमा ४६ सय ८६ मत ल्याएको रास्वपाले यस पटक ३ सय ६४ मत मात्र बढायो । रास्वपाले कुल ५ हजार ५० मत ल्याउँदा स्वतन्त्रउम्मेद्वार डकेन्द्रसिंह थेगिमको त्योभन्दा दोब्बर देखिन्छ । लिम्बूको जमानत जफत हुनुको पछाडि सभापति सहकारी प्रकरणमा जोडिएको र उम्मेदवारको विषयमा फैलिएका विभिन्न हल्लाले काम गरेको बताइन्छ । 

यता एमाले उम्मेदवार सुहाङको जीत सम्बन्धमा कानुनी विज्ञता, उनको बाबुको जस्तै विनयशीलता, शालिन र भद्रशैली, बाबुले देखाएको इमान्दारिता र निष्ठा तथा निर्वाचन क्षेत्रमा रहेको एमाले विरासत जस्ता कुरा भएको एमालेजनको बुझाई छ । सुहाङलाई थोरै सहानुभूतिको मत पनि आएको बताइन्छ । उनले २७ हजार ७७२ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका खड्काले २१ हजार ९४२ पाएका छन् ।

टिप्पणीहरू