सरकारलाई दुबै जसपाको समर्थन

सरकारलाई दुबै जसपाको समर्थन

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ ।

जसपा नेपालबाट विभाजित भएको सो पार्टीले हिजो निर्वाचन आयोगबाट मान्यता पाएलगत्तै संसदीय दलको बैठक राखेर सरकारलाई समर्थन दिएर जाने निर्णय लिएको हो । महासचिव इस्तियाक राईले जारी गरेको प्रेस विज्ञप्तिमा संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको उल्लेख छ ।

आइतबार ७ सांसदसहित राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको थियो । नयाँ पार्टीमा सांसदहरु प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् ।

यता, जसपा नेपालले पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । यसबारे आधिकारिक निर्णय लिन सो पार्टीका नेताहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । 

उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका बेला असन्तुष्ट नेताहरुले पार्टी फुटाएका थिए । आज बिहान नेपाल आइपुगेका यादवले पछिल्लो राजनीतिक घटनाक्रम र जसपा विभाजनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिसकेका छन् । 

प्रतिनिधिसभामा १२ सांसद रहेको जसपा विभाजन भएर ७ सांसद अशोक राई समूहमा लागेपछि अब यादवसँग ५ सांसद मात्र बाँकी छन् ।

टिप्पणीहरू