काठमाडौं र ललितपुरमा विरोध प्रदर्शन गर्न पूर्वस्वीकृति अनिवार्य

काठमाडौं र ललितपुरमा विरोध प्रदर्शन गर्न पूर्वस्वीकृति अनिवार्य

स्थानीय प्रशासनको अनुमतिबिना काठमाडौं र ललितपुरका सार्वजनिक स्थलमा प्रदर्शन, धर्ना, जुलुस र विरोधका कार्यक्रम गर्न नपाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै प्रदर्शन, धर्ना, जुलुस, हड्ताल वा अन्य विरोधका कार्यक्रम गर्दा अनिवार्य अनुमति लिन भनेको हो । 

संविधानद्धारा नागरिकलाई प्रदत्त अधिकारको प्रयोग गर्दा हुने गरेका प्रदर्शन, धर्ना, जुलुस वा अन्य विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक एंव व्यक्तिगत सम्पत्तिमा पर्ने नोक्सानी र क्षतिलाई न्यूनीकरण गर्न गृह मन्त्रालयले ‘सार्वजनिक प्रदर्शन हड्ताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि २०८१’ जारी गरेको छ । 

उक्त कार्यविधि गृह मन्त्रालयको वेबसाइटमा राखिएको छ । दुवै सिडियो कार्यालयले आगामी दिनमा सार्वजनिक प्रदर्शन, धर्ना, जुलुस, हड्ताल वा विरोधलगायतका कार्यक्रम गर्दा उक्त कार्यविधिको पूर्ण रुपमा पालना गर्ने शर्तमा अनुमति लिएर मात्र गर्न राजनीतिक दल, संगठित संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, व्यक्ति वा समूहलाई अनुरोध गरेका छन् । 

अन्यथा, कानूनबमोजिम कारबाही गरिने र त्यस्ता कार्य गर्दा सरकारी, सार्वजनिक सम्पत्तिमा भएको क्षतिको मूल्यांकन गराई सम्बन्धित पक्षबाट बिगो भराउने भनिएको छ ।

टिप्पणीहरू