मौलिक हक कार्यान्वयन हुन नसकेको मन्त्रीको गुनासो

सुन्नुहोस्

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले संविधानले व्यवस्था गरेको मौलिक हक कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता जनाउनुभएको छ ।  

गोरखापत्र संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो भनाई राख्नुभएको हो । संविधानमा मौलिक हकसम्बन्धी धेरै राम्रा व्यवस्था राखिएको भएपनि त्यसको व्यावहारिक कार्यान्वयन हुन भने नसकेको मन्त्री शर्माको भनाई छ । 

उहाँले जातीय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरु संविधानमा व्यवस्थित गरेको तर आजसम्म पनि कार्यान्वयन नभएको बताउनुभयो । संविधानले किटान गरेका मौलिक हकहरु कार्यान्वयन हुन नसक्नुका कारणहरु पत्ता लगाइ सरकारी सञ्चारमाध्यमबाट जनतासमक्ष लैजानुपर्नेमा मन्त्री शर्माले जोडसमेत दिनुभयो । 

'हामीले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेका छौँ । जातीय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरु संविधानमा व्यवस्थित गरेका छौँ । तर, त्यो कुरा आजका दिनमा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन', उहाँले अगाडि भन्नुभयो, 'व्यवहारिक रुपमा कार्यान्वयन हुन नसक्नुको पछाडिको कारणहरु पत्ता लगाइ यस्ता कुरालाई सरकारी मिडियामार्फत जनसमक्ष लैजान सक्यौँ भने मलाई लाग्छ सचेतनाको पक्षमा राम्रो भूमिका निर्वाह गर्दछ ।'

गोरखापत्र संस्थानको संरचनागत अवस्था र व्यवस्थापन पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र बजार व्यवस्था गर्नुपर्ने समय आएको पनि मन्त्री शर्माले बताउनुभयो । सरकारी मिडिया सरकारका भजनमण्डलीका रुपमा मात्रै रहन नहुनेमा उहाँले सचेत गराउनुभयो ।
 

टिप्पणीहरू