प्रभु साहमाथि टिप्पणी : टाउको दुःखेको ओखती नाइटोमा दले

प्रभु साहमाथि टिप्पणी : टाउको दुःखेको ओखती नाइटोमा दले

पूर्वमन्त्री तथा सांसद प्रभु साह यतिखेर हाँसोको पात्र बनेका छन् । अर्थ मन्त्रालयसँग गर्नुपर्ने माग लिएर कार्यकर्तालाई भन्सार विभाग घेर्न लगाएपछि विभिन्न टिकाटिप्पणी हुन थालेको छ । कतिपयले उक्त गतिविधिलाई टाउको दुःखेको ओखती नाइटोमा दलेको उखानसँग दाँजेका छन् ।

भन्सार नियमावली परिमार्जनको माग गर्दै महिनौंदेखि राजधानीको त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गर्नु उनका कार्यकर्ताको दिनचर्या बनेको छ । साह अध्यक्ष रहेको आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चले भन्सार नियमावली परिमार्जन गर्न माग गर्दै चौथो चरणको आन्दोलन थालेको छ ।

विभागबाहिर नाराबाजी गर्ने, त्यहाँका पदाधिकारीसँग वार्ता–छलफल र सहमति खोज्ने कार्य भइरहेको छ । हिजो अपरान्ह विभाग घेर्न पुगेका उनका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता, उनीहरुले जति नाराबाजी गरेपनि समस्याको समाधान ननिस्किने विभागका अधिकारीहरु बताउँछन् ।  

साहको मागको समाधान गर्नसक्ने हैसियत विभागसँग नभएको उनीहरुको जिकिर छ । साहका केही माग व्यवहारिक र जनमुखी भएपनि विभागले केही गर्न नसक्ने एक अधिकृतले बताए । ‘यो कार्यान्वयन गर्ने निकाय मात्र हो । नीतिगत र राजनीतिक निर्णय हाम्रो हातमा छैन’, उनले भने । 

साहले अर्थ मन्त्रालय तथा गृह मन्त्रालयमा नीति कार्यक्रम तथा बजेटमार्फत यी समस्या समाधान गराउन सक्ने विभागका कर्मचारी बताउँछन् । सरसर्ती हेर्दा साहका माग स्थानीय सर्वसाधारणको दैनिकीसँग केन्द्रित छ । भारतसँग सीमाना जोडिएका सर्वसाधारणले घरायसी प्रयोजनका लागि अत्यावश्यक सामान ल्याउँदा प्रहरीले पक्रेर जफत गर्ने, दुःख दिने, सवारी साधन नियन्त्रणमा लिने गर्दै आएको उक्त पार्टीको आरोप छ । 

साहले उक्त धरपकड रोक्नुपर्ने माग राख्दै आएका छन् । त्यसैगरी, कोभिड १९ महामारीको बेला बन्द भएका छोटी भन्सार खोल्नुपर्ने र त्यहाँ कर्मचारी पठाउनुपर्नेमा उनको जोड छ । प्रहरीले स्थानीयले आयात गरेका सामान सुराकी कमिसन र पुरस्कारको लोभमा समातेर हैरान पार्ने गरेको आजपाको ठहर छ । 

साहका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग यस विषयमा कुरा भएको छ । आज बिहान कुराकानीका क्रममा प्रधानमन्त्रीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए । ‘मेरो बिहान प्रधानमन्त्रीसँग कुरा भएको थियो । उहाँले प्रोजिटिभ्ली लिनुभएको छ । हामी पनि माग सम्बोधन हुनेमा आशावादी छौं’, उनले भने । 

माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले बताए । भन्सार विभाग घेराउ गरेर अर्थ मन्त्रालयलाई दबाब दिएको उनको दाबी छ । भन्छन्,‘सिंहदरबारमा आन्दोलन गर्न पाइएन । त्यसैले विभाग बाहिर आन्दोलन गरेका हौं । राजस्व र भन्सारसम्बन्धी प्रमुख अंग भन्सार विभाग हो । एकातिर राजश्व उठेको छैन, अर्कोतिर बोर्डरमा सामान लिएर आउनेलाई विभिन्न बहानामा दुःख दिइन्छ । यो जसरी भएपनि रोक्नैपर्छ ।’

टिप्पणीहरू