‘म राजदूतले गोमालाई अन्याय गरेको छैन’

‘म राजदूतले गोमालाई अन्याय गरेको छैन’

जर्मनीका लागि नेपाली राजदूत म रामकाजी खड्कालाई जोडेर मिति १७ वैशाख २०८१ का दिन तपाईंको लोकप्रिय साप्ताहिक पत्रिका जनआस्थाको अनलाइन भर्सनमा प्रकाशित ‘राजदूतले पेल्दा गोमाको रुवाबासी’ शीर्षक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ, यस सम्बन्धमा खण्डन प्रेषित गरेको व्यहोरा अनुरोध गर्दछु ।

१. जर्मनीको बोनस्थित नेपाल सरकारको नाममा रहेको सम्पत्ति (घर–जग्गा) बिक्री व्यवस्थापनका लागि कारवाही भई डेढ वर्षपहिले नै स्थानीय लाइसेन्सप्राप्त मूल्यांकनकर्तावाट मूल्यांकन गराएर न्यूनतम मूल्य निर्धारण गरी पठाइदिन अनुरोधसहित मन्त्रालयमा पठाइएको । न्यूनतम मूल्य निर्धारण भै आएपश्चात् थप कारवाही अगाडि बढाइनेछ ।

 २. अर्दलीको तलब मैले हैन, निजहरूले नै हस्ताक्षर गरी लिने गरेका छन् । खानाको रकम कटाएको पनि अव्यावहारिक आरोप मात्र हो । निजहरूलाई यातना दिएको छैन । निज गोमादेवीलाई सदैव परिवारको ज्येष्ठ सदस्यको रूपमा सम्मानजनक व्यवहार गर्ने गरेको व्यहोरा जानकारी गराउन चाहन्छु । पत्नीउपर लगाइएको आरोप पनि कुण्ठा र प्रतिशोधपूर्ण अर्को झुटसिवाय केही होइन ।

३. रुस–युक्रेन युद्धका कारण सिर्जित असहज परिस्थितिमा मेरो प्रत्यक्ष नेतृत्व, निर्देशन र समन्वयमा तत्कालीन गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदहरू– जर्मनी, पोल्याण्ड, चेक रिपब्लिक, स्लोभाक रिपब्लिक, हंगेरी र युक्रेनसँगको सहकार्य तथा दूतावास प्रमाणिकृत तथा सहप्रमाणिकृत मुलुकहरूका सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी ६०९ जना नेपालीलाई सकुशल उद्धार गरिएको थियो । स्मरण रहोस्– युक्रेनमा राजदूतले ओहदाको प्रमाणपत्र पेश गर्नु पर्दैन ।

पछिल्लो चरणमा नेपालीहरू रुसी सेनामा भर्ती भै युक्रेनमा युद्धको अग्रमोर्चामा खटिंदा कतिले ज्यान गुमाउनु परेको छ भने ६ जना युक्रेनी सेनाको कब्जामा परी युद्धबन्दीको रूपमा रहेका छन् । मैले बर्लिनस्थित समकक्षीसँग भेटघाट गरी निजहरूको तत्काल रिहाइ तथा घरफिर्तीका लागि अनुरोध तथा पहल गरेको छु । यससम्बन्धमा भएका प्रगतिबारे मन्त्रालयमा समय–समयमा प्रतिवेदन पनि गरेको छु ।

४. नियोग उपप्रमुख सागर फुयाँलले यसपटक मात्र नभएर हालसम्म ५÷६ पटक हप्तौं दिनसम्म कार्यालयमा पूर्वजानकारी नदिई गैर हाजिर हुने गरेका छन् । यस विषयमा यसअघि पनि मन्त्रालयको प्रशासनमा मौखिक प्रतिवेदन गरेको छु । पछिल्लो पटक निज १४ अप्रिलदेखि यो खण्डन लेख्दाका बखतसम्म नियोगमा विना पूर्व जानकारी र विना स्वीकृति गैरहाजिर रहनुभएको छ । यीलगायत अनुशासन उल्लंघनका कैयौं श्रृंखलाको कारण निजलाई मिति २०८१।०१।०३ का दिन निजामती सेवा ऐन, नियम अनुसार लिखित रूपमा सचेत गराइएको छ ।

५. निजले कार्यालय समयमा मादक पदार्थ र लागू पदार्थ सेवन गरी घरै बसेर कार्यालयमा काम गरिरहेका राजदूतलगायत अन्य कर्मचारीलाई समेत गालीगलौज गरिरहेको अवस्था रहेकोले नियोगको कार्यसम्पादन र प्रभावकारितामा असर पर्न गएको छ । 

६. मैले मेरा छोरीहरूका लागि महँगा ट्याब किनेको भन्ने विषय पनि झुठा आरोप मात्र हो । मैले त्यसरी कुनै सामान खरिद गरी नियोगको बजेट दुरूपयोग गरेको छैन ।

(पीडितहरुका गुनासा र मर्काको अडियो रेकर्ड हामीसँग सुरक्षित छ ।)

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू