चिसो पाथीभरा क्षेत्रमा तातो बहस

चिसो पाथीभरा क्षेत्रमा तातो बहस

-कमल भट्टराई

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र केही वर्षयता विवादको घेरामा छ । एउटा नामको विषयलाई लिएर विवाद उत्पन्न भएको छ भने अर्को पाथीभरामा बन्न लागेको केबुलकार निर्माणको विषय बनेको छ । पाथीभराको नाम लिम्बूवान प्रदेशझैँ यसको नाम पनि लिम्बूभाषाअनुसार मुकुम्लुङ राखिनुपर्ने माग छ । पछिल्लो समय ताप्लेजुङमा मुकुमलुङ र केबुलकार निकै तातो बहसको विषय बनेको छ ।

पाथीभरामा केबुलकार निर्माणका लागि पहिलेदेखि केही व्यवसायीले सोच राखेका थिए । पछिल्लो समय त्यसतर्फ धेरैको चासो बढेपछि राज्यले छिनोफानो गरेर केबुलकार निर्माणको आधिकारिकता दिइएको थियो । आधिकारिकता पाएको कम्पनीले काम थालेपछि जग्गा प्राप्तीको समयदेखिनै केबुलकार निर्माणको विषय विवादित बनेको हो । केही व्यक्तिले सस्तोमा जग्गा खरिद गरेर केही दिनमै लाखौं बढाएर कम्पनीलाई बेचेका थिए । 

यस्तो कार्यले कम्पनीको सेयरमा प्रभाव पर्ने र स्थानीयले त्यसको मार व्यहोर्नु पर्ने गुनासोबाट सुरु भएको विवाद अहिले वातावरणीय, वन, वन्यजन्तु संरक्षण हुँदै स्थानीय पूजा परम्परामा पुर्याइएको छ । केबुलकार बन्न नहुने अभियानका साथ मुकुम्लुङ संयुक्त संघर्ष समिति बनाएर केबुलकार निर्माण गर्न नहुने भन्दै आन्दोलनहरु हुँदै आएको छ । मुकुम्लुङ संयुक्त संघर्ष समिति र केबुलकार निर्माण खारेजी संघर्ष समिति संघर्षरत छन् ।

राज्य पक्षबाट केबुलकार निर्माण कम्पनीलाई काम गर्ने वातावरण बनाउन   जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा संघर्ष समितिसँग वार्ता गर्न  समिति बनाइएको छ । समितिमा सो क्षेत्रका स्थानीय निकायका प्रमुखहरु, पाथीभरा क्षेत्र विकास समिति, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालाहरु छन् । समितिले वार्ताको उपलब्धि हात पार्न सकेको छैन । पाथीभराको नामाङ्कन र केबुलकार निर्माण ताप्लेजुङको पाथीभरा चुचुरोमा चिसोमा पनि निकै गरम बहसको विषय बनेको हो ।

ताप्लेजुङको पाथीभरा डाँडा र निकै उचाइमा रहेका कारण त्यहाँ पुग्न अशक्त तथा जेष्ठ नागरिकलाई निकै असहज हुन्छ । केही वर्षयता त्यस्ता अशक्तहरुलाई देवीको दर्शन र कञ्चनजंघा, फक्ताङलुङ (कुम्भकर्ण) लगायत हिमाल र पहाडी सुन्दरताको दर्शन गराउन स्थानीय युवा तीर्थयात्रीलाई ढाडमा बोकेर लैजान थालेका हुन् । 

सुकेटारदेखि तेर्सो र भालुगौडे काफ्ले पाटीदेखि उकालो भएका कारण विशेष कान्छीथान भनिने फेदीदेखि लेक लाग्ने उचाई र ठाडो उकालो पर्दछ । तीर्थालुलाई फेदीदेखि माथि हिँड्न निकै गाह्रो हुन्छ । त्यसैले कान्छीथान फेदीमा धुपबत्ति र पूजाआजा गर्ने चलन पहिलेदेखि चलिआएको हो । धेरै पहिलेदेखि मानिसहरु फेदीबाट धागो टाँगेर टुप्पोसम्म पुग्दथे । अहिले पनि केहीले यस्तो गर्ने गरेका छन् ।

टिप्पणीहरू