पाठ्यक्रमको सन्दर्भ सामग्री जथाभावी प्रकाशन नगर्न चेतावनी

पाठ्यक्रमको सन्दर्भ सामग्री जथाभावी प्रकाशन नगर्न चेतावनी

भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री जथाभावी प्रकाशन नगर्न सम्बन्धित पक्षलाई कडा निर्देशन दिएको छ । 

पाठ्यक्रमको सन्दर्भ सामग्री भनी केही प्रकाशकले विभिन्न पुस्तक प्रकाशन गरेको पाइएको उल्लेख गर्दै नगरपालिकाले यस्ता अनधिकृत कार्य रोक्न निर्देशनयुक्त चेतावनी दिएको हो । पालिकाको सूचनामा ‘नगरपालिकासँग अनुमति नलिई स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री भनी विभिन्न पुस्तक प्रकाशन गरी विद्यालय र विद्यार्थीहरुलाई बिक्रीवितरण गरेको बुझिन आएकोले सम्बन्धित सम्बन्धित प्रकाशकलाई यथाशीघ्र यस्तो अनधिकृत कार्य रोक्न' भनिएको छ । 

अन्यथा, नियमानुसार कारबाही गरिने नगरपालिकाको चेतावनी छ । त्यस्तै, कुनै प्रकाशन गृहले स्थानीय पाठ्यक्रमसम्बन्धी कुनै सन्दर्भ सामग्री प्रकाशन गर्न चाहेमा नगरपालिकाबाट पूर्वस्वीकृति लिन पनि भनिएको छ । 

भक्तपुर (ख्वप) को इतिहास, राजनीति, साहित्य, कला, सम्पदा, जीवनशैली, परम्परागत उपचार विधि, खेलकुदलगायत विभिन्न विषयमा नगरक्षेत्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई शिक्षित गर्ने उद्देश्यका साथ नगरपालिकाले स्थानीय पाठ्यक्रम (ख्वपको पहिचान) तयार गरी लागू गर्दै आएको छ । 

नगरपालिकाले स्थानीय पाठ्यक्रम प्रभावकारी रुपमा अध्ययन अध्यापनको लागि ख्वपको पहिचान भाग १, २ र ३ सन्दर्भ सामग्री प्रकाशित गरी सम्बन्धित विद्यालयहरुमा उपलब्ध गराइसकेको पनि जानकारी दिएको छ ।

टिप्पणीहरू