धरौटी बुझाउन नसकेपछि दिपेश पुन कारागार चलान

धरौटी बुझाउन नसकेपछि दिपेश पुन कारागार चलान

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन कारागार चलान भएका छन् । नेकपा माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा उनी धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका हुन् । 

उनलाई भैरहवास्थित रुपन्देही जिल्ला कारागार पठाइएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तप्रसाद मरासिनीले बताए । त्यस्तै, अर्का प्रतिवादी नवीन अछामी पनि धरौटी रकम राख्न नसक्दा कारागार चलान भएको उनले जानकारी दिए । 

जिल्ला न्यायाधीश डा.श्रीप्रसाद उप्रेतीको इजलासले आज सहकारी अध्यक्ष ओमप्रकाश गुरुङ्गलाई थुनामा पठाउन र दिपेशसहित छ जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो । आदेशमा दीपेशसँग ४ लाख, नवीनसँग १० लाख, लीला चापागाईंसँग १८ लाख, दिपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापामगरसँग २ लाख र रोशनी गुरुङ्गसँग २ लाख रुपैयाँ धरौटी मागिएको छ ।

टिप्पणीहरू