रुसी सेनामा गएकालाई फर्काउन आफन्तको अनशन

रुसी सेनामा गएकालाई फर्काउन आफन्तको अनशन
सुन्नुहोस्

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन माग गर्दै उनीहरुको परिवारका सदस्य आमरण अनशनमा बसेका छन् । उनीहरुले आजदेखि माइतीघर मण्डलामा अनशन शुरु गरेका हुन् । 

१३ बुँदे माग पूरा नभएसम्म अनशन जारी रहने 'रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान'की संयोजक कृतु भण्डारीले बताइन् । रुसी सेनामा रहेका नेपालीको उद्धारका लागि पटक-पटक सरकारको ध्यानाकर्षण गराएपनि सुनुवाई नभएकाले बाध्य भएर अनशन बस्नुपरेको उनको भनाइ छ । 

‘हामीले सरकारसमक्ष पटकपटक हाम्रो माग राख्यौं । तर, सुनुवाई भएन् । त्यसपछि हामीले आन्दोलन शुरु गर्यौं । तैपनि बेवास्ता गरियो । त्यसैले बाध्य भएर आजदेखि अनशन थालेका हौं । हाम्रो १३ बुँदे माग सम्बोधन नभएसम्म अनशन जारी रहन्छ । अहिले हामी झण्डै ४० जना छौं, बेलुकासम्म सय बढी पुग्छौं’, उनले भनिन् । 

उनीहरुले रुसी सेनामा भएका नेपालीको सकुशल उद्धार गरी स्वदेश फिर्ता ल्याउन, पुनः युद्ध मैदानमा लगिएकालाई तत्काल उद्धार गर्न, युद्धमा घाइते नेपालीको उचित उपचार र क्षतिपूर्तिको व्यवस्थापन गर्न, युक्रेनको कब्जामा रहेका पाँच जना युद्धबन्दीको उद्धार गर्न, मृतकको शव स्वेदश ल्याउन, बेपत्ताको खोजी गर्न, रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर्नलगायतका माग राखेका छन् ।

टिप्पणीहरू