मानिस हौँ, कामदार हौँ, दास होइनौँ

मानिस हौँ, कामदार हौँ, दास होइनौँ

खाडी अर्थात् मध्यपूर्वका एक दर्जन मुलुक आफ्नै सीमाभित्र बाँधिएका छन् । त्यसैगरी बाँधिन बाध्य भएका छन्, आप्रवासी कामदार ।

मध्यपूर्वको उराठलाग्दो मरूभूमि । आफ्नै बेगमा बगिरहेको तातो हावा । मानौं– कसैलाई कसैको वास्ता छैन । तरपनि खाडीमा आप्रवासी कामदारहरूका ठूल्ठूला सपना छन् । सगरमाथा जतिकै अग्लो कल्पना बोकेर मरूभूमिमा हिँडिरहेका छन्, नेपाली । खाडीमा नेपाली मात्र छैनन्, संसारै छ । मरूभूमिले नेपालको हरियाली दृश्य देखाइरहेको छ । 

खाडीमा चर्को घाम छ तर मनमा शीतलता छ । मुढा झैँ सुतेको थकित शरीर । बिदाको समय । सामाजिक सञ्जालमार्फत् साथी–भाइसँग गफियो । यस्तै छ– परदेशीको कथा । खाडीको दैनिकी । गल्फको हत्यारा गर्मीले धेरैको ज्यान लिइरहेको छ । यतिसम्म कि मजदूरहरूले शान्त मनले पानीसमेत पिउन पाउँदैनन् । देश फर्किएका हजारौँ कामदारहरू अशक्त छन् ।

यो कतार, यूएई, बहराईन, ओमन, साउदी अरेबिया, कुवेत, इराक, लेबनान, इजरायल, जोर्डन, इजिप्ट र यमनको कथा हो । गरिबीको भूमरीभित्र हराएपछि जानी–नजानी खाडीमा बेचिएका युवाहरूको व्यथा हो ।

खाडीका थुप्रै समस्याहरू उजागर भए । तर नेपाल सरकारले समाधान गर्न सकेन । कम्पनीदेखि भेडी गोठसम्म शोषणका अनेकौं पीडा छन् ।

यो सुनौलो युगमा पनि कामदारहरू बन्धकजस्तै छन् । चेलीहरूका व्यथा पनि उस्तै छन् । किनकि यो खाडी हो । ‘हामी मानिस हौँ, हामी कामदार हौँ, दास होइनौँ’– आप्रवासी भन्छन् ।

सुन्दर भविष्यको सपना देखेर परदेश पसेका तन्नेरीहरू परिवारका लागि मरूभूमिमा बाँचिरहेका छन् । यो एक युवाको कथा हो, जहाँ हजारौं युवाले भोगिरहेका छन् । यो नेपाली युवाहरूले भोगिरहेको मध्यपूर्वको कहरलाग्दो व्यथा हो ।

टिप्पणीहरू