कतारका शेखको सुरक्षानिम्ति कालु पाण्डे कक्षमा छलफल
आगामी साता नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारी शेख तमिम बिन हमाद अल थानीको सुरक्षाका लागि नेपाली सेनाले तयारी थालेको छ ।
थानीको भ्रमणका क्रममा आवश्यक सुरक्षा रणनीति बनाउन सैनिक मुख्यालय जंगीअड्डामा आज दिउँसो सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र काठमाडौँका सिडिओबीच संयुक्त छलफल हुँदैछ । रक्षा मन्त्रालयको समन्वयमा एकीकृत सुरक्षा योजना बनाउन जंगीअड्डास्थित 'कालु पाण्डे' कक्षमा 'प्रस्तुतीकरण तथा छलफल' गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यसअघि रक्षाले गृहलाई पत्र लेखेर सहसचिव नारायणप्रसाद भट्टराई, नेपाल प्रहरीका एआइजी किरण बज्राचार्य,काठमाण्डौ प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री,सशस्त्रका एआइजी बंशीराज दाहाल,काठमाडौँका सिडिओ जितेन्द्र बस्नेत र ट्राफिक प्रहरीका एसएसपी जीवन श्रेष्ठलाई उक्त छलफलमा पठाइदिन अनुरोध गरेको थियो ।
शेख थानीले चैत ११ र १२ गते नेपालको औपचारिक भ्रमण गर्दैछन् । भ्रमणको पूर्व तयारीका लागि गएराति दुई जना कतारी अधिकारी काठमाडौं आइपुगेका छन् ।
थाइ एअरवेजको उडान नम्बर टिजी ३१० मा राति पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको टोलीमा युसुफ अहमद वाइबी अलसायद र अब्दुल्ला मोहम्मद सिद्धिक क्युएस अल इमादी रहेको बुझिएको छ ।
यसअघि सोमबार पनि सोही उद्देश्यका लागि २२ जना कतारी अधिकारीहरु दोहाबाट सोझै काठमाडौं आएका थिए ।
टिप्पणीहरू