सरकारी जग्गा खालि गर्न ३५ दिने सूचना

सरकारी जग्गा खालि गर्न ३५ दिने सूचना

सप्तरीको  छिन्नमस्ता गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न निर्देशनयुक्त चेतावनी दिएको छ । आज सार्वजनिक सूचना निकालेर पालिकाले आगामी जेठ ५ गतेभित्र जग्गा खाली गर्न भनेको हो । 

उक्त अवधिभित्र जग्गा खालि नगरिए प्रचलित कानूनबमोजिम हुने जनाइएको छ । पालिकाका अध्यक्ष विद्यानाथ चौधरीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अतिक्रमण गरिएका सार्वजनिक ऐलानी जग्गा, पर्ती, गौचर, पोखरी, पोखरीको डिलहरु र गाउँ टोलहरुमा कब्जा गरिएका बाटो घाटोहरु खाली गराउने निर्णय भएको हुँदा तोकिएको समयभित्र जग्गा खाली गर्न गराउन अनुरोध छ ।’

अतिक्रमित तथा कानून विपरित भोगचलन भइरहेका सरकारी, सार्वजनिक जग्गाको विवरण पठाउन र त्यस्तो कार्य गर्नेउपर कानूनबमोजिम कारबाही अघि बढाउन गृह मन्त्रालयबाट सबै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहलाई समेत पत्राचार भएकोले सोको कार्यान्वयनका लागि यस्तो कार्य थालिएको गाउँपालिकाले जनाएको छ । 

‘त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानूनबमोजिम कारबाही गरी पूर्ववत सरकारी, सार्वजनिक, संधिसर्पण ऐलानी आदि रुपमा कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्यतथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालय पठाउन र त्यस्तो कार्य गर्नेउपर प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित स्थानीय तह, सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरिएको हुँदा सोको समेत कार्यान्वयन गराउने गरी यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र जग्गा खाली गरी सहयोग गरिदिनुहुन अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू