यातायातको सर्भर 'डाउन', सेवा ठप्प

यातायातको सर्भर 'डाउन', सेवा ठप्प
सुन्नुहोस्

पोखरास्थित यातायात व्यवस्था कार्यालयको सर्भर डाउन हुँदा सेवा अवरुद्ध भएको छ । 

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीको केन्द्रीय सर्भरमा समस्या हुँदा लाइसेन्स नवीकरण र रिट्रायल अपडेट तथा राजश्व दाखिला कार्य रोकिएको हो । आज बिहानैदेखि सेवा अवरुद्ध रहेको कार्यालय प्रमुख जितेन्द्रजंग केसीले बताए । 

प्रणालीमा देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको उनले जानकारी दिएका छन् । 

‘सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीको केन्द्रीय सर्भरमा समस्या देखिई यस कार्यालयबाट प्रवाह हुने सवारी चालक अनुमतिपत्रको नवीकरण र रिट्रायलको लागि अपडेट तथा राजश्व जम्मा गर्ने कार्य प्रभावित हुन गएको व्यहोरा सम्बन्धित सेवाग्राहीहरुको जानकारीको लागि अनुरोध छ । प्रणालीमा देखिएको समस्या समाधानको लागि प्रयास भइरहेको हुँदा प्रणाली सञ्चालन हुनासाथ सेवा सुचारु हुने व्यहोरासमेत अनुरोध छ’, कार्यालयले सूचना जारी गर्दै भनेको छ । 

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले सर्भरमा देखिएको समस्या समाधान हुन चारदेखि पाँच घण्टा लाग्ने बताए । पोखराको मात्रै नभई मुलुकभरको यातायात व्यवस्था कार्यालयको सर्भरमा डाउन भएको उनको भनाइ छ ।

‘अधिकांश सरकारी कार्यालयको बेभसाइटमा समस्या देखिएको छ । हाल समाधानको प्रयास भइरहेको छ । अझै चारदेखि पाँच घण्टा लाग्न सक्छ’, उनले भने । 

सर्भरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका छन् ।

टिप्पणीहरू