बिरामी र कुरुवालाई खानबस्न निःशुल्क

बिरामी र कुरुवालाई खानबस्न निःशुल्क

नेपाल युथ फाउण्डेशनले उपचारका लागि विभिन्न जिल्लाबाट काठमाडौं आएका बिरामीहरुलाई निःशुल्क खानेबस्ने व्यवस्था मिलाएको छ ।  

आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई लक्षित गरी फाउण्डेशनले ललितपुर महानगरपालिका-२६ सुनाकोठीस्थित पोषण पुनःस्थापना गृह परिसरमा ‘एनएलसी–ट्रान्जिट होम (नवजीवन केन्द्र)’ सञ्चालनमा ल्याएको हो । बिरामी र एक कुरुवालाई तीन हप्तासम्म निःशुल्क खानबस्न दिइने फाउण्डेशनले जनाएको छ । 

यो कार्यक्रम सञ्चालन गरेको ९ महिनामा झण्डै ४० जनाले सेवा लिइसकेको प्रोजेक्ट म्यानेजर सुधा महर्जनले बताइन् । उनका अनुसार केन्द्रमा १२ वटा बेड व्यवस्थापन गरिएको छ । फ्लोअपका लागि अस्पताल धाइरहनुपर्ने बाहिरी जिल्लाका बिरामीलाई आउन–जान समस्या हुने भएकाले सो व्यवस्था मिलाएको महर्जन बताउँछिन् । 

‘उपचारका लागि काठमाडौं आउनुहुने बिरामीलाई फ्लोअप चेकजाँचका लागि घरबाट आइरहन गाह्रो हुन्छ । उपचार गर्दागर्दै पैसा सकिसकेको हुन्छ, होटलमा बस्न सक्ने अवस्था हुँदैन् । त्यसैले हामीले तीन हप्तासम्म निःशुल्क खानेबस्ने व्यवस्था मिलाएका हौं’, उनले भनिन् । 

बिरामीले उक्त सुविधा लिनका लागि अस्पतालको पूर्जी, नागरिकताको प्रमाणपत्र प्रतिलिपि बुझाउनुपर्ने उनले जानकारी दिइन् । त्यस्तै, फाउण्डेशनले कुपोषणबाट ग्रसित बालबालिकाका लागि पनि कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
 

टिप्पणीहरू