भारतीय चुनावलक्षित आजतकको ‘राजतिलक’

भारतीय चुनावलक्षित आजतकको ‘राजतिलक’

भारतीय प्रधानमन्त्री ‘नरेन्द्र मोदी’ को भक्तिगान गाएर कहिल्यै नथाक्ने ‘टीभी, रेडियो, पत्रपत्रिका र अनलाइन’लाई भारतीयहरू ‘गोदी मिडिया’ भन्छन् । ‘मोदी—मोदी, हिन्दू—मुस्लिम र पाकिस्तान’ मात्रै भट्याइरहने मिडियाको पर्यायवाची बनेको छ भारतीय टेलिभिजन ‘आजतक’। 

आजतकले लोकसभा निर्वाचनअघि ‘भारतीय मतदाताको दिल छाम्न’ र ‘खुलेआम मोदीको माहोल तताउन’ महत्वाकांक्षी उडान भर्दैछ । आफ्ना दर्शकलाई हेलिकोप्टरमार्फत् ‘राजतिलक’ देखाइरहेको छ । कतिपयले आजतकको ‘हेलिकप्टर सट’ लाई पत्रकारितामा नयाँ प्रयोगसमेत भनेका छन् । 

आजतकले हिजोआज आफ्नो ‘लोगो झुन्ड्याएको हेलिकप्टर’ भारतका ग्रामीणमा भेगमा उडाइरहेको बताइन्छ । उडिरहेको हेलिकोप्टरमा ‘स्टार एंकर’ तथा कार्यकारी सम्पादक अञ्जना ओम कश्यप एकाएक देखिन्छिन् । हेलिकोप्टरबाट ओर्लिएपछि लामो कपाल फहराउँदै दर्शक—श्रोतालाई स्वागत गर्छिन् । र, आफ्नो टीमलाई हेर्न जम्मा भएको भीडतिर लाग्छिन् । 

त्यसो त आजतकले बेलामौकामा ‘केही नयाँ, केही फरक’ काम गरिरहेकै हुन्छ । त्यसमा पनि अञ्जनालाई भारतीय दर्शकहरु ‘भ्रामक सूचना र भड्काउ समाचार’ की खेलाडी भन्ने गर्छन् ।

उनी भारतभरका ‘गोदी एंकर’ मध्ये सबैभन्दा बढी भारतीय जनता पार्टी, राष्ट्रिय स्वयंसेवक संघ र प्रधानमन्त्री मोदीप्रति पूर्ण बफादार देखिन्छन् । कतिसम्म भने— ‘मैं हूँ अञ्जना ओम कश्यप’ भन्नुपर्ने ठाउँमा ‘नमस्कार, आप देख रहे हैं हल्ला बोल आपके साथ मैं हूँ अञ्जना ओम मोदी...’ भन्न भ्याउँछिन् । 

हिन्दू—मुस्लिमको अराजक बहस, मोदीको अनावश्यक प्रशंसा र छिमेकी पाकिस्तानविरुद्ध ‘हल्ला बोल’ चलाउँछिन् । अञ्जनाकाअनुसार ‘राजतिलक’ ले लोकसभा निर्वाचनअघि सय गाउँ—सहरको उडान भर्नेछ । उनको दाबी छ, ‘सामाजिक र राजनीतिक वार्तालापको केन्द्रमा उडिरहेछ राजतिलक’। 

हेलिकोप्टरमा आधारित ‘चुनावी कभरेज’ आजतकले हालसम्म गरेको सबैभन्दा महत्वाकांक्षी प्रचार हो । हवाई मार्गबाट जनतामाझ पुग्ने आजतक र अञ्जनाको विचार उल्लेखनीय भएपनि ‘एकतर्फी रिपोर्टिङ’ले लोकतन्त्रको आत्मा मारेको बताइन्छ । 

(समाचार एजेन्सीहरुको सहयोगमा ।)

टिप्पणीहरू