‘मोरल डाउन’ का कारण ‘टु लेट !’

‘मोरल डाउन’ का कारण ‘टु लेट !’
सुन्नुहोस्

नेपालमा अहिले आर्थिक क्षेत्रमा अनुशासनहीनता, विकृति र अपचलन बढेकोले चौतर्फी रूपमा अर्थतन्त्रमाथि काला बादल मडारिएका छन्  । सहकारी र बचतका नाममा भएका लुट, ठगी र अपचलनले अर्थतन्त्र धरापमा पर्ने खतरा बढ्दै गएको छ  ।

आर्थिक अनियमितता र विकृतिले लगानीकर्ता तथा बचतकर्तामा अविश्वास बढेको हो  । साना बचतकर्ताको मनोवल गिर्न पुग्दा व्यवसायबाट हात झिक्ने प्रवृत्ति बढ्दै गएको छ  । मुलुकका ठूला र उत्कृष्ट भनिएका सहकारी धमाधम भाग्ने, बन्द हुने र संकटग्रस्त बन्न पुग्दै गएकोले त्यसको असर बैँक तथा वित्तीय संस्थाहरूमा समेत पर्न थालेका छन्  ।

सहकारी ठगी र बैँकिङ क्षेत्रका आर्थिक अपचलन समेतमा दलका नेता, सेना र प्रहरी तथा सरकारी उच्च पदस्थ अधिकारीहरू सहितको नाम जोडिनु र मुछिनुले समग्र आर्थिक क्षेत्रमा विश्वासको खडेरी पर्ने अवस्था बन्न पुगेको हो  । यसमा सुधार गर्न अपराधमा संलग्न जोसुकैलाई छानबिन गर्न अत्यावश्यक छ  । आफूलाई चोखो भन्ने रवि लामिछानेको ठूला सहकारी ठगीमा नाम मुछिएको छ  । यस्ता गतिविधिका कारण बचतकर्ता र लगानीकर्ताको ‘मोरल डाउन’ हुने क्रम खतरनाक प्रकारले बढ्दै जान थालेको देखिन्छ  ।

त्यतिमात्र होइन तथ्यहिन, भ्रामक र झुट्टा हल्ला फैल्याउने अनलाइन मिडिया, युट्युबर, विभिन्न निजी स्वार्थ जोडिएका व्यक्तिहरू र राजनीतिक अभिष्ट पूर्ति गर्न लागेका समूहले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्र तहसनहस र ध्वस्त भइसकेको भन्ने हल्ला चलाउँदै आएका छन्  । यस्ता बजार हल्लाका काण साना लगानीकर्ता, बचतकर्ता र आम नागरिकको मनोवल दिनदिनै गिर्दै गएको देखिन्छ  । यसैले गर्दा नेपालमा केही पनि हुँदैन, सबै नेता र दल उस्तै हुन्, सबै सहकारी ठग र चोर हुन् भन्ने खालको बुझाइ र भाष्य व्यापक भएको छ  । सबै नेता चोर हुन्, नेपालमा रोजगारी छैन, व्यापार छैन, उद्योग, व्यापार संकटग्रस्त भइसक्यो भन्ने हल्ला फैलिएका कारण पेशा र व्यापार गर्नेमा त्रास बढेको देखिन्छ  । डर र त्रासका कारण ‘मोरल डाउन’ बढेको हो  । हल्ला, भ्रम र मोरल डाउन भएकाले विदेश जानेहरूको लर्काे दिनदिनै बढ्दै गएको देखिन्छ  ।

आफ्नै घर गाउँमा अम्रिसो रोपेर वर्षकै चार लाख कमाउन सक्ने मानिस पनि तीन लाख कमाउन अरबतिर लाइनमा देखिन्छन्  । खराबमा पनि असल हुन्छ  । सबै नेता, सबै सहकारी र सबै मान्छे ठग होइनन्, हुँदैनन् भन्ने सोच समाजमा घट्दै गएको कारण अविश्वास बढेको देखिन्छ  । नेपालमा पनि धेरै क्षेत्रमा हजारौँ मानिसले प्रगति र उन्नत्ति गरेका छन्  । उच्च मनोबलसहित व्यापक अर्थको इमानदारीसहित काम गरेको खण्डमा धेरै प्रगति गर्न सकिन्छ भन्ने कुरा कसैले सुन्नै नचाहने किन भयो ? ‘डाउन’ हुँदै गएको ‘मोराल’ हाइ गरेर सुधार गर्न कोही तयार भएन  । अर्कातर्फ सरकारप्रतिको नागरिक भरोशा र विश्वास पूरै गिरेको छ  ।

गिरेको मनोवल (डाउन मोरल) प्रगति र समृद्धिको बाधक हो  । हारेको र कमजोर मनस्थिति तथा खस्केको मनोवलबाट अघि बढ्दा कोही पनि लक्ष्यमा पुग्न सक्दैन  । वर्तमान नेपालको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, नैतिक, प्राविधिक, भौतिक र समग्र विकासमा मनोबल खस्कन पुग्दा निराशा, कमजोरी र अविश्वास सर्वत्र बढ्दै गएको हो  । उच्च शिक्षा आर्जनदेखि रोजगारीका अवसरको खोजीमा विदेशिने युवाको संख्या बढिरहेको छ  । विदेशिनेक्रम दैनिक बढ्दै जानु युवाको मनोबल गिर्नु हो  । बैँकमा लगानीयोग्य पुँजी (नगद) को मौज्दात बढिरहेको भए पनि पुँजी लगानी गरेर व्यापार बढाउनेमा त्रास, डर पैदा भएको कारण सामान्यतयाः कोही पनि ऋण लगानी गर्न चाहँदैन  । लगानीकर्ता, उद्योगी र व्यवसायीको मनोवल खस्केको कारण ऋण लगानी बढ्न नसकेको हो  । औपचारिक शिक्षा आर्जन गरेका, शहरबजारमा घर भएका र नेपालमा नै आय जार्जन गर्न सक्ने व्यक्ति पनि विदेश हान्निन थालेका छन्  ।

ठूला उद्योग–व्यापारमा लगानी बढाउने होइन भएको लगानी संकुचन र फिर्ता गरी घरजग्गा वा अनुत्पादक क्षेत्रमा ‘डम्प’ गर्ने प्रवृत्ति बढेको छ  । शहरबजारमा चालु हालतमा रहेका साना लगानीमा सञ्चालित पेशा, व्यापार र सेवा विस्तार गर्ने होइन बन्द गर्ने तथा लगानी संकुचन गर्ने सोच बढ्दै गएकाले ‘टु लेट’ र ‘बिक्रीमा’ भन्ने बोर्ड यत्रतत्र देखिन थालेका छन्  । साना लगानीकर्ता र व्यवसायीको मनोवल यति धेरै खस्केको छ कि शहरका सबैजसो पसल–व्यवसाय ‘बेच्न पाए हुन्थ्यो’ भन्ने मनस्थितिमा पुगेका देखिन्छन्  । अफवाह (हल्ला) भुसको आगो जस्तो गरी फैलिँदै गएकोले व्यवसायीको मनोवल नराम्रोसँग खस्कन पुगेको हो  । किन र कसरी यस्तो अवस्था आयो ? हल्ला भएजस्तो नेपालको अवस्था त्यस्तै भइसकेको हो ?

आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा आएका यस्ता मनोवल कमजोर पार्ने भ्रमलाई कसरी चिर्न सकिन्छ ?

अर्काेतर्फ राजनीतिक क्षेत्रमा अन्यौलता, विकृति, विसंगती र अविश्वास बढेको कारण त्यसको दुष्प्रभाव सर्वत्र फैलिएको छ  । राजनीतिक नेतृत्व, नेता, सरकार, सत्ता र लोकतान्त्रिक गणतन्त्रमा अनेकौँ हल्ला र भ्रम फैलँदैछन्  । मुलुकमा अहिले कोही पनि नेता आदर्श (आइडल) बन्न सकेको देखिन्न  । ‘सबै एउटै ड्याङका मुला हुन्’ भन्ने भाष्य फैलिएको छ  । ठूला दल, पार्टी र नेतालाई गाली गर्नु मात्र आफ्नो योग्यता हो भन्ने सोच भएका सुगाबाट मुलुक बन्ने कल्पना गर्न सकिन्न  ।

समानुपातिक प्रणालीसहितको खर्चिलो, भड्किलो र विकृतिपूर्ण चुनावी संस्कृतिका कारण लोकतन्त्र बदनाम भएको हो  । राजनीतिको उपरी संरचना र सत्तामा आएको निराशाले नेपाली समाज पूरै ग्रस्त बन्दैछ  । घर बहालमा लगाएको भरमा भाडा खान पल्केकाहरू काठमाडौँ र ठूला शहरमा ‘टु लेट’ को बोर्ड टाँसेर व्यापारीको प्रतीक्षामा रहेका छन्  ।

यस्तो अवस्थामा सानासाना लगानी बटुलेर धनी भएका ठूला सहकारीहरू अरबौँ कुम्ल्याएर धमाधम भाग्न थालेपछि समस्या झनझन गम्भीर भएको हो  । सहकारी, वित्तीय संस्था र बैकिङ ठगीका समस्या समयमा नसुल्झाउने हो भने नेपालमा त्यसका बाछिटाले चौतर्फी संकट ल्याउने खतरा छ  । डाउन भएको मोराल हाइ गर्न सक्ने हो भने सुधारका सम्भावनाचाहिँ रहेको देखिन्छ  ।

टिप्पणीहरू