विश्वकै महँगो विवाहमा पुगेका पाहुनाले पिए ठेलाको चिया

विश्वकै महँगो विवाहमा पुगेका पाहुनाले पिए ठेलाको चिया

यतिबेला विश्वभरका मिडियाको ध्यान भारतको एउटा विवाहले तानेको छ । विश्वका धनाढ्यहरुको सूचीमा निकै माथि रहेका डलर अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको विवाहले विश्वको ध्यान खिँचेको हो । 

अम्बानी परिवारले विश्व किर्तीमानी राख्नेगरी तामझामका साथ सम्पन्न गर्न लागेको विवाहमा सहभागी हुन विश्वका प्रतिष्ठित व्यक्तिहरु ओइरिएका छन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्स विवाहस्थल पुगिसकेका छन् । उनले एक ठेला पसलमा पुगेर चिया पिएको फोटो र भिडियोले सामाजिक सञ्जाल तताएको छ । 

त्यस्तै, फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि श्रीमतीसहित भारत पुगेका छन् । अल्फाबेट अर्थात् गुगलका सिइओ सुन्दर पिचाई आज बिहान पुगेका हुन् । 

मेक्सिकोका सर्वाधिक धनी व्यवसायी मैग्नेट कार्लोस स्लिम, साउदी अरबका अध्यक्ष यासिर अल रुमैयान, भूटानका राजारानी पनि जामनगर पुगेका छन् । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान परिवारसहित विवाहको निम्तो मान्न पुगेका छन् । 

तीन दिनसम्म चल्ने समारोहमा सहभागी हुन बलिउडका हस्तीहरु अमिताभ बच्चन, रजनीकान्त, शाहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार, माधुरी दिक्षित, ऐश्वर्या राय बच्चन, अजय देवगन, काजोल, रणवीर सिंह, दिपिका पादुकोण, रणवीर कपुर, आलिया भट्ट, बिक्की कौशल, कट्रिना कैफ पनि जामनगर पुगिसकेका छन् । 

यसअघि मुकेशकै छोरी इशा अम्बानीले ९० करोडको लेहेंगा लगाउँदा किर्तीमानी बनेको थियो । यो रकम चर्चित कलाकारहरुको विवाहको सम्पूर्ण खर्चभन्दा धेरै हो । 

अहिले अम्बानी परिवारले न्यूनतम एक हजार करोड खर्च हुने अनुमान गरेको छ । तर, तामझाम हेर्दा १५ सय करोड पुग्ने आकलन छ । 

चर्चित हलिउड सेलिब्रेटी गायिका रिहाना पनि प्रस्तुतीको निम्ति भारत आइपुगेकी छन् । उनलाई अमेरिकाबाट अम्बानी परिवारले प्राइभेट जेटमा राखेर ल्याएको हो ।

अनन्तले बाल्यकालकी साथी राधिका मर्चेन्टसँग बिहे गर्न लागेका हुन् । बिहेको मुख्य समारोह आगामी जुलाई १२ मा भए पनि अहिले प्रि–वेडिङ समारोह आयोजना गरिएको हो । समारोह आज साँझ कक्टेल पार्टीबाट सुरु भएर पर्सि मध्यरातसम्म चल्नेछ ।

हिजो साँझ अम्बानी परिवारले जामनगरका सर्वसाधारणको निम्ति भोजको आयोजना गरेको थियो ।

टिप्पणीहरू