जग्गा सरकारलाई फिर्ता नदिन चौधरीहरु पुगे सर्वोच्च

जग्गा सरकारलाई फिर्ता नदिन चौधरीहरु पुगे सर्वोच्च
सुन्नुहोस्

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा गराउने प्रक्रिया रोक्न माग गर्दै चौधरी समूहले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको पाँच नम्बर संयुक्त इजलासमा पेशी चढेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो । 

राजनीतिक पहुँच र प्रभावका आधारमा कांग्रेस सांसदसमेत रहेका चौधरी समूहका अध्यक्ष विनोद चौधरीले तत्कालीन कारखानाका प्रमुखसँगको मिलेमतोमा सो जग्गा आफ्नो बनाएका थिए । त्यसविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेका बेला चौधरी समूह अदालत पुगेको हो । 

साविक च्याम्पियन फुटवेयर अर्थात हालको सिजी चाँदबाग रेसिडेन्सी प्रालिको तर्फबाट सन्जय ठाकुरले फागुन १३ गते मुद्दा दर्ता गराएका थिए । त्यसको भोलिपल्टै १४ गते नयाँ न्यायाधीश बालकृष्ण ढकालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो । 

चौधरी समूहका तर्फबाट मागिएको अन्तरिम आदेशमा छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेशबमोजिम आज पेशी तोकिएको मुद्दा हेर्न नभ्याइनेमा परेको हो । मुद्दाले अग्राधिकार र अन्तरिम आदेश नपाएको अवस्थामा अर्को साता दोहोरो छलफल हुने गरी पेशी तोकिने सम्भावना छ ।

यस प्रकरणमा पक्राउ परेका विनोदका भाइ अरुण चौधरीलगायत सबै जिल्ला अदालत काठमाडौँको २ दिने आदेशले रिहा भैसकेका छन् । त्यसरी आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई भने सजायस्वरूप मुगु धपाइएको छ ।

टिप्पणीहरू