नेता र दल ओरालो लाग्न कति बेर लाग्छ र !

नेता र दल ओरालो लाग्न कति बेर लाग्छ र !
सुन्नुहोस्

मरिचझैं चाउरिँदै गएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) झन् झन् कमजोर बन्दैछ । अध्यक्ष ठाकुरको असक्षमताले गर्दा पार्टी कमजोर भएको भन्दै उनी नजिकका नेता-कार्यकर्ताले समेत पलायनको बाटो रोज्दै आएका छन् । 

ठाकुरमाथि परिवारवाद र नातावादलाई प्रश्रय दिई साँघुरो घेरामा रमाएको आरोप छ । आफ्नो असक्षम नेतृत्वलाई ढाकछोप गर्न उनले पातलिँदै गएको पार्टीमा ६३ जनाको जम्बो पदाधिकारी टीम बनाउँदै केन्द्रीय समिति विस्तार गरेर ३ सय ५१ पुर्याएका छन् । जसमा सम्धी-सम्धिनी,छोरी,भतिजका साथै अर्का नेता तथा श्रममन्त्री शरदसिंह भण्डारीकी हितैषी निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष बनाइएको छ । यौटै व्यक्तिलाई दुई महत्वपूर्ण पद जिम्मा दिएर ठाकुरले पार्टी संगठनमा हास्यास्पद अभ्यास शुरु गर्नुका पछाडि आर्थिक लेनदेन गरेको चर्चा छ । 

त्यसैगरी,मन्त्री भण्डारीकी छोरी श्रृष्टी सिंहलाई सचिव बनाइएको छ भने बहिनी ममता राणा,साली निलिमा खड्का,बहिनी मञ्जु थापा र जेठान प्रदीप खड्का केन्द्रीय सदस्य भएका छन् । यिनीहरु कोही पनि राजनीतिमा सक्रिय छैनन् । यसैगरी, वरिष्ठ नेता राजेन्द्र महतोका ज्वाँइ अनिल महासेठलाई महासचिव बनाइएको छ । जबकि उनी राजनीतिभन्दा पनि व्यापारमा सक्रिय छन् । 

यसरी परिवार तथा नाताभित्रकै मान्छेलाई छानीछानी पदाधिकारी बनाएका महन्थ विगतदेखि नै यस्ता कुरामा चल्तापुर्जा मानिन्छन् । दोस्रो संविधानसभामा उनले सरकारका पूर्वसचिव उमाकान्त झाका चिकित्सक छोरासँग आफ्नी छोरी मिनाक्षी ठाकुरको विवाहको कुरा छिनोफानो गर्दै भावी सम्धिनी इन्दिरालाई तत्कालिन तमलोकाको तर्फबाट समानुपातिक सांसद बनाएर महँगो ‘दाइजो’ दिएका थिए । दुवै संविधानसभामा आफू सर्लाही-४ बाट पराजय व्यहोरेका महन्थले सबैतिरबाट विरोध हुँदाहुँदै  पनि भावी सम्धिनीलाई सांसद बनाएकोमा चौतर्फी विरोधसमेत भएको थियो । 

पहिलो संविधानसभामा सरकारबाट मनोनीत हुने २६ जना सभासद्मा आफ्नो नाम सिफारिस गराएर झ्यालबाट सभासद् बनेका उनले त्यसअगाडि खिलराज रेग्मीको अध्यक्षतामा गठित मन्त्रिपरिषद्मा उमाकान्त झालाई तीन वटा मन्त्रालय हेर्ने गरी मन्त्री बनाएका थिए । सोपश्चात् सम्धीको कृपाले पार्टीको कोषाध्यक्ष बनेका झा अहिले वरिष्ठ उपाध्यक्ष छन् । सम्धिनी इन्दिरालाई पनि उपाध्यक्ष बनाइएको छ । 

गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीगत तहबाट छोरी मिनाक्षीको नाम महिलातर्फ पहिलो नम्बरमा समानुपातिक सांसदको सूचीमा राखेका महन्थ थ्रेसहोल्ड कटाउन नसकेपछि छक्क परेका थिए । अहिले विस्तारित केन्द्रीय कार्यसमितिमा एक तिहाइ आफ्नो जात र थरका मान्छेहरुको हुल घुसाएका छन् । जबकि यीनीहरु मधेशमा अल्पसंख्यक समुदायभित्र पर्दछन् ।

पहिलो संविधानसभातिर काठमाडौंमा सरकार बनाउन चाबी नै हातमा लिएका उनी 'प्रभु सत्ताको लागि काठमाडौं आएको हो, सत्ताको लागि होइन' भन्ने गर्थे । तर, जब सत्तामा पुगे त्यसपछि दोस्रो संविधानसभातिर यिनीहरुको हालत पातलो र दयनीय भयो । 

२०४६ सालमा बहुदल आएपछि उपसभामुख बनेका महन्थ त्यसयता शक्ति र सत्तामै रमाउँदै आएका छन् । राप्रपाका सूर्यबहादुर थापाको मन्त्रिपरिषद्मा सञ्चारमन्त्री बनेका उनी शेरबहादुर देउवाको पालामा वनमन्त्री भएका थिए । त्यसैगरी, कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषद्मा भौतिक योजना तथा निर्माण मन्त्री थिए ।

पछि कांग्रेस छोडेर आफ्नै नेतृत्वमा तमलोपा बनाएका उनी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला कृषि तथा विज्ञान प्रविधि मन्त्री भए । त्यसअघि गिरिजाकै क्याबिनेटमा कानून तथा न्याय मन्त्री थिए । त्यसताका दौरा-सुरुवाल र टोपीमा सजिने उनी आफ्नो जात र थरका मानिसहरुसँग बोल्न पनि अप्ठेरो मान्थे । 

आफू र आफ्ना परिवारका स्वार्थमा मात्र केन्द्रित हुँदै आएका महन्थ जब कांग्रेस छोडेर मधेशको राजनीतिमा लागे त्यतिबेला उनीमाथि मधेशीहरुले भरोसा गरेकै थिए । तर, उनले आफ्ना पुराना स्वभाव र स्वार्थ प्रदर्शन गर्दै गएपछि 'यता न उता' को अवस्थामा पुगे । गजेन्द्रनारायण सिंहको अवसानपछि जसरी नेपाल सद्भावना पार्टी खत्तम भयो त्यसैगरी महन्थ ठाकुरले आफ्नो जीवनमै लोसपालाई समाप्त पार्ने त होइन भन्ने चर्चा मधेसमा सुनिन्छ ।

उनका एक जना विगतमा नजिकका सहयोगी पूर्व सभासद् डा.विजय सिंहका अनुसार सो पार्टी अवसानतिर लागेको छ । सिके राउतको उदयसँगै महन्थको ओरालो यात्रा एकैसाथ शुरु भएको भन्न थालिएको छ ।
 

टिप्पणीहरू