त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका विदेशी अबदेखि रिसाउलान् कि नरिसाउलान् ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका विदेशी अबदेखि रिसाउलान् कि नरिसाउलान् ?
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अनलाइन भिसाको निम्ति आवेदन फर्म भर्न यसअघि विदेशीहरुलाई त्यहाँ राखिएको मेशिनमा लामो समय लाग्थ्यो । घण्टौं लाइनमा बस्दा उनीहरुलाई पहिलो गाँसमै ढुंगा भनेझैँ नेपाल घुम्न आउने क्रममा विमानबाट ओर्लने बितिक्कै लामो लाइन, दिक्क लाग्दो प्रक्रिया, पर्याप्त मेशिनको अभावको झर्को लागेको देखिन्थ्यो ।

‘किवस्क’ मेशिनमा आवेदन गर्न घण्टौं लाइनमा दिक्दारीका साथ पालो कुर्नुपर्ने बाध्यता केही दिन अघिसम्म कायमै थियो । अध्यागमन कार्यालयमा रहेको छ वटा मेशिनले यदाकदा तीन वटा विमान एयरपोर्टमा एउटै समयमा अवतरण गरेको अवस्थामा विदेशी यात्रुको बिजोग हुन्थ्यो । त्यस्तो बेलामा दुई सय जनाभन्दा बढी सेवाग्राही पालो कुर्दै लाइनमा बस्नु्पर्ने अवस्था थियो । 

लामो समयसम्म पालो कुरेर बस्दा कतिपय विदेशी यात्रुको रिसले चुर हुन्थे । कतिपयले मेशिनमा मोबाइल वा हातले हान्ने र त्यहाँ रहेका कर्मचारीलाई अपशब्द बोल्ने गरेको कुनै नौलो थिएन । 

यी सबै जानकारी अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङलाई पर्यटक विभागको बनेदेखि नै थाहा थियो । यसको समाधानका लागि ठोस पहल गर्न उनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालको टिमले ठोस पहल गरेको बताइन्छ । त्यसका लागि सुरुवाती चरणमा त्यहाँ रहेका छ वटा पुराना क्विस्क मेशिनले मात्रै नधान्ने भएपछि आधुनिक फ्ल्याप बेरिएर कम्प्युटर तीन थान थप गर्न लगाइयो ।

यसका लागि महानिर्देशक तामाङको पहलमा पर्यटन विभागले दुई करोड निकासा गरिदिएको थियो । प्रमुख हमालले यतिखेर अध्यागमन कार्यालयको एरियामा डेडिकेटेड इन्टरनेट सेवा सञ्चालन गराएका छन् । वाइफाइ फ्रि जोनको पनि नयाँ व्यवस्था गरिएको छ । यसबाट लाइनमा बस्नुपर्ने सेवाग्राहीलाई अब हातमा रहेको मोबाइलबाट नै अनलाइन भिसा फाराम भर्न सक्ने सुविधा प्राप्त भएको छ ।

नेपाली मोबाइलको सिमकार्ड नलिँदै सोझै इन्टरनेटको सुविधा पर्यटकहरुले उपभोग गर्न पाएपछि अध्यागमन कार्यालयबाट यसअघि सेवा लिएका एक जना विदेशीले जनआस्थासँग हिजो अध्यागमन कार्यालयमा भेट्दा खुशी व्यक्त गरेकी हुन् । वरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकालका अनुसार कार्यालयको ध्यान बेलाबेलामा भइरहने सर्भर डाउनको समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्ने बेला आएको छ । 

‘सर्भर डाउनपछि हामीलाई सेवा प्रवाहमा समस्या हुन्छ । यसबाट मुक्ति पाउन हालसम्म राष्ट्रिय सूचन प्रविधि केन्द्रको जीआईडीसीबाट डाटा लिँदै आइरहेकोमा ‘लोकल नियर लाइन डाटा’ लिनु उत्तम हुने हाम्रो निचोड छ । यसका लागि हामीले हाम्रो आफ्नै बिल्डिङमा लोकल सर्भर सञ्चालन गर्ने योजना बनाएका छौं,’ ढकालले भने । 

विभागका महानिर्देशक रुद्रसिंह तामाङले जनआस्थासँगको कुराकानीमा आवश्यक बजेटको अभावले कतिपय महत्वपूर्ण कार्यमा ढिलाइ भइरहेको बताए । अर्थ मन्त्रालयले दुई करोड रुपैयाँको बजेट छुट्याए पनि उक्त कार्य सम्पन्न गर्न छ करोड ५० लाखको अनुमान गरिएको छ । ‘ठेक्काका लागि अर्थसँग आवश्यक जोहो गरेर हामी कामलाई अघि बढाउँछौं । यो आवश्यकतासँगै स्वाभाविक पनि हो,’ उनले भने ।

विमानस्थलको आगमनतर्फको अध्यागमनमा सूचना डेस्कको समेत स्थापना गरिएकाले विदेशी यात्रुले सहजताको अनुभव गरेको बताइन्छ ।
 

टिप्पणीहरू