बेलायतमा एनआरएनकाे चुनावी माहाैल

बेलायतमा एनआरएनकाे चुनावी माहाैल

एनआरएनए युरोप उपसंयोजक तथा सामाजिक अभियन्ता दयानिधि सापकोटाले एनआरएनए केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायत, लेस्टरका सफल व्यवसायी सापकोटाले अग्रज र डेलिगेट्ससँग लामो छलफल एवम परामर्शपछि सचिवमा उम्मेदवारी दिने घोषणा गरेको बताएका छन् । 

’पारदर्शी संगठन, जवाफदेही संस्था–एकताबद्ध एनआरएनए ः सबल सचिवालय’ आफ्नो मुख्य एजेण्डा रहेको उनले जानकारी दिए । सापकोटाले एनआरएनएमा आफ्नो लामो अनुभव सदुपयोग गर्दै संघको बृहत्तर हित र मातृभूमिका लागि थप काम गर्ने प्रणसमेत गरेका छन् ।  एनआरएनए ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी १७ देखि २० अक्टोबरसम्म काठमाडौंमा हुँदैछ ।  

हाल केन्द्रीय नेतृत्वको आकांक्षीमध्ये अग्रपंक्तिमा देखिएका उनले बेलायतबाट प्रतिनिधित्व गर्दै आइसीसी सदस्य र युरोप उपसंयोजकको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका कारण उनी सबैको रोजाइ बनेको उनी निकटस्थहरु बताउँछन् ।  

सापकोटा सन् २००६ बाट नै गैरआवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा थिए । स्वीडेनको राजधानी स्टकहोममा सम्पन्न १४औं युरोपियन क्षेत्रीय बैठकसहित १२औं महिला, युवा तथा विज्ञ सम्मेलन र चेक रिपब्लिकमा आयोजित १५ औं युरोपियन क्षेत्रीय सम्मेलन सफल बनाउन निकै खटिएका सापकोटाको रचनात्मक भूमिकाले त्यतिखेर सर्वत्र प्रशंसा पाएको बताइन्छ । 

बेलायत र नेपाल दुवैतिर च्यारिटीकर्म, आपतविपत र प्राकृतिक विपत्तिमा साथ, नेपालको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा निरन्तर आर्थिक सहयोग गर्ने उनी नाम जस्तै ’दयालु’ रहेको उनलाई चिन्नेहरुको भनाई छ । 

‘बोल्ड पर्सनालिटी’ र स्पष्ट वक्ताको पहिचान बनाएका उनले दर्जनौ सामाजिक संस्थामा काम गरेर अनुभव हासिल गरेका छन् । उनको जन्मथलो बाग्लुङको काठेखोला गाउँपालिका बिहुँकोट ५, देउराली हो ।

स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बिकम अध्ययन गरिरहेको बखत सन् १९९३ मा उनी जर्मनी पुगे । करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत पुगेका हुन् ।

टिप्पणीहरू