बझाङबाट माननीय बन्न मारामार

बझाङबाट माननीय बन्न मारामार

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि रिक्त बझाङ प्रदेश सभा क क्षेत्रको उम्मेदवार हुन एमाले र कांग्रेसमा मारामार हुने देखिएको छ । 

जसले जिते पनि अहिलेको सत्ता समीकरणमा खासै फरक नपर्ने सो क्षेत्रमा कांग्रेसको तुलनामा एमाले उम्मेदवार मारमार हुने सम्भावना छ । सो क्षेत्रमा दशैतिहारपछि चुनाव हुने सम्भावना छ । एमालेबाट जिल्ला अध्यक्ष दमन भण्डारी, जयपृथ्वी नगरपालिकाका पूर्व मेयर वीरेन्द्र खड्का, स्व. सिंहसित पराजित भएका अफिलाल उखेडाबीच टिकट पाउन मारामार छ । धेरैलाई उचालेर आफ्नो नाममा सहमत गराउने खेल केन्द्रीय सदस्य ऐनबहादुर महरले गरेको चर्चा पनि छ । उनी प्रतिनिधि सभामा नेकपा (एकीकृत समाजवादी)का नेता भानुभक्त जोशीसंग एक हजार एक मतले पराजीत भएका थिए । उनलाई कांग्रेस र माओवादीको देखावटी सहयोग रहेको थियो ।

रोचक त के भने सो चुनावमा धेरै एमालेले समाजवादीका जोशीलाई र कांग्रेसले एमालेका महरलाई भोट हालेका थिए । महरले चुनावमा धेरै खर्च गरेका थिए भने केही बुथ कव्जा पनि गर्न भ्याए । अर्को रमाइलो, महर चुनावको एक साताअघिसम्म चन्दा उठाउन काठमाडौँमै थिए । 

कांग्रेसमा भने अहिलेसम्म अवसर नपाएका जगतप्रसाद जोशीलाई उठाउनु पर्छ भन्ने चर्चा छ । कोइराला समूहका जोशीलाई सभापति शेरबहादुर देउवाका विश्वासपात्र अर्जुनबहादुर सिंहले बोकेका छन् । जोशी र सिंह विरोधी पक्षले स्व. पृथ्वीबहादुर सिंहका छोरा अविशेक सिंहको पक्षमा धारणा राख्दै आएका छन् । गत चुनावमा स्व. सिंहले एमालेका उखेडालाई करिब चार हजार मतको फरकले हराएका थिए । 

बझाङको एउटा सिटले तत्कालको गठबन्धनमा खासै फरक पर्ने देखिन्न । अहिले कांग्रेस नेतृत्वको माओवादी, समाजवादी र नागरिक उन्मुक्तिको सरकारसंग ३९ मत छ । ५३ सदस्यीय प्रदेश सरकार बनाउन २७ मत आवश्यक हुन्छ । 

तर, केही गरेर वामपन्थी एक हुने अवस्था आउँदा भने बझाङको एक सिट पनि अर्थपूर्ण हुनसक्छ । अहिले एमालेका १०, माओवादीका ११, समाजवादीका चार प्रदेश सभा सदस्य गरेर २५ मत छ । त्यसैमा वाम पृष्ठभूमिका डा. ताराप्रसाद जोशी स्वतन्त्र प्रदेश सभा सदस्य छन् । बझाङ एमालेले जित्यो भने सो संख्या सरकार बनाउन आवश्यक संख्या पुग्छ । माओवादीका सभामुखले भोट हाल्न नपाउने अवस्थामा राप्रपाको एक वा उन्मुक्तिको सात सिटको सहारा लिनुपर्ने हुन्छ । 
 

टिप्पणीहरू