लमजुङका डेढ दर्जनले नेपाली नागरिकता त्यागे

लमजुङका डेढ दर्जनले नेपाली नागरिकता त्यागे
सुन्नुहोस्

लमजुङ स्थायी घर भई जागिर तथा व्यावसायको शिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङले यस्तो जानकारी दिएको हो । जिल्लामा नागरिकता त्याग्नेको संख्या संवत २०७४ र २०७८ सालमा सबैभन्दा धेरै रहेको पनि पाइएको छ । उक्त समयमा पाँच-पाँच जनाले नागरिकता त्यागेका छन् । 

२०७३ सालमा २ जना, ०७५ सालमा एक जना, ०७९ सालमा २ जना र ८० सालको हालसम्म ३ जनाले नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले जानकारी दिए । अन्य देशको नागरिकता लिनका लागि नेपालको छोड्नुपर्ने कानुनी व्यवस्था भएबमोजिम  उनीहरुले दिएको निवेदनका आधारमा प्रशासन कार्यालयले निर्णय गरेको उनको भनाई छ ।

नागरिकता परित्याग गर्नेहरुमा लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरू छन् । त्यसैगरी नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पनि प्रशासन कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७९/०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । जबकी सोही आर्थिक वर्षमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको छ।   

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ५ सय ५४ जनाले प्रतिलिपि लिएका थिए भने ७ हजार ५ सय ५८ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई बैबाहिक अगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
 

 

टिप्पणीहरू