जबजको धङधङ्गीले कार्यकर्ता पलायन भएको झलनाथको ठहर

जबजको धङधङ्गीले कार्यकर्ता पलायन भएको झलनाथको ठहर

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैचारिक र कार्यशैलीगत समस्याका कारण पार्टी निरन्तर कमजोर हुँदै गएको टिप्पणी गर्नुभएको छ । 

हिजोदेखि शुरु भएको पार्टी स्थायी कमिटी बैठकमा आफ्ना लिखित असन्तुष्टि राख्नुभएका उहाँले विद्रोहका बेला जस्तो उत्साह अहिले पार्टीमा नरहेको पनि बताउनुभएको छ । स्पष्ट विचार र दृष्टिकोण नभएकै कारण नेता-कार्यकर्ता एमालेमा फर्किन थालेको र त्यसले पार्टी कमजोर बनिरहेको खनालको भनाई छ ।

'वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरु' शीर्षकको १६ पृष्ठ लामो दस्तावेजमा खनालले आम कार्यकर्तामा उत्साह जगाउन नसक्दा उनीहरु पलायनको बाटोमा अघि बढेको उल्लेख गरिएको छ । ‘जतिबेला विद्रोह भएको थियो,त्यसबेला पार्टीपंपंक्तिमा निकै ठूलो उत्साह र उमंग थियो, तर,आज त्यो छैन', दस्तावेजमा भनिएको छ । 

खनालले विद्रोह गर्दा पार्टीसंग रहेको जनमतसमेत अहिले खुम्चिएको र कतिपय क्षेत्रमा उम्मेदवारसमेत उठाउन नसकेको विषयलाई गम्भीरताका साथ दस्तावेजमा राख्नुभएको छ । पार्टी फुटेपछिको दुई वर्षसम्म पनि विद्रोहको औचित्य पुष्टि गर्न किन सकिएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्नेमा खनालको विशेष जोड छ । 

'बिद्रोह गर्दा पार्टी वरिपरि जुन जनमत थियो त्यो पनि खुम्चिदै गएको छ । स्थानीय चुनावमा मात्र पनि हाम्रो पार्टीले ६ लाख मत पाएको थियो, तर राष्ट्रिय चुनावमा आउँदा ३ लाख पनि नघाउन सकेन', दस्तावेजमा लेखिएको छ, 'केही महिना भित्रमै ५० प्रतिशत जनमत खुम्चिनु दुखद कुरा हैन ? संसदका तीन वटा सीटमा उपचुनाव हुँदा हाम्रो पार्टीले आफ्ना उम्मेदवारसम्म उठाउन सकेन । पार्टी निरिह देखियो ।'

पार्टीका तर्फबाट निर्वाचित सांसदहरुले संसदमा प्रभावकारी भूमिका खेल्न नसकेको पनि खनालको आरोप छ । 'संसदमा पनि हाम्रो प्रभावकारी र क्रान्तिकारी ढङ्गले संसदीय संघर्ष भएको महसुस हुँदैन । अधिकांश सांसदले त बोलेकै सुनिंदैन', उहाँ भन्नुहुन्छ । 

पार्टीको यो अवस्थालाई खनालले रावणको शरीरसँग तुलना गर्दै दस्तावेजमा लेख्नुभएको छ, 'हाम्रो पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गाहारो पर्ने अवस्थामा भएको महसुस हुन्छ । त्रिपाई जस्तो माथि फुकेको,तल सुकेको पार्टी संगठन छ । हुनुपर्ने ठीक उल्टो हो ।'

एमाले र एकीकृत समाजवादीबीच सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता नरहनुले पनि यस्तो अवस्था सृजना भएको खनालको बुझाइ छ । उहाँ दस्तावेजमा लेख्नुहुन्छ, 'हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले)का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन

सकिएको छैन । हाम्रो पार्टीमा पनि जबजकै धङधङ्गी छ र (एमाले)मा पनि जबजकै धङधङ्गी छ । त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता-कार्यकर्ताहरु वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ ।'

पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु भएर अघि बढेकै कारण कार्यकर्तामा एमालेतिरै जाने चिन्तन विकास भएकाले यसलाई क्रान्तिकारी बर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्नेमा खनालको जोड छ । 

'हामीले यी सम्पूर्ण कमि कमजोरीहरुलाई क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरुलाई निर्ममतापूर्वक हटाउनुपर्छ,बैचारिक तथा संगठनात्मक दुबै क्षेत्रबाट यस्ता कमजोरीहरुलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सबल, सशक्त र धारिलो
क्रान्तिकारी जगमा उभ्याउनुपर्छ र प्रधान अन्तरविरोध र प्रधान प्रतिद्धन्दीका विरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउँदै अघि बढ्नुपर्छ', दस्तावेजमा भनिएको छ ।  

त्यसो गर्नसके मात्र पार्टी पंक्तिमा नयाँ उत्साह, उमङ्ग र जोशको सन्चार हुने खनालको भनाई छ ।
 

टिप्पणीहरू