महानिर्देशक हटाउने पर्यटनमन्त्रीको तयारी, सोधियो दोस्रो पटक स्पष्टीकरण

महानिर्देशक हटाउने पर्यटनमन्त्रीको तयारी, सोधियो दोस्रो पटक स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोध्नुभएको छ । 

यसअघि असार ११ गते सात दिने स्पष्टीकरणको महानिर्देशक अधिकारीले जवाफ नदिएपछि पुनः दोस्रो पटक स्पष्टीकरण सोधिएको हो । पर्यटन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट तीन दिनको समय राखेर पुनः स्पष्टीकरण सोधिएको जनाएको छ । 

सो अवधिभित्र जवाफ नआएमा कानूनबमोजिम अघि बढ्ने मन्त्रालयले चेतावनीसमेत दिएको छ । 

‘यस मन्त्रालयको असार ११ गतेको पत्रबाट तपाईंबाट सम्पादित कार्यसँग सम्बन्धित विभिन्न ९ (नौ) बुँदाका विषयमा ७ (सात) दिनभित्र स्पष्ट जवाफसहितको विवरण पेश गर्न नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) नियर्णयबाट लेखी पठाइएकोमा निर्धारित समय सीमाभित्र तपाईबाट स्पष्ट जवाफसहितको विवरण पेश हुन नआएकोले के कति कारणले समयमा नै स्पष्ट जवाफसहितको विवरण पेश नगर्नु भएको हो ? उल्लिखित पत्रमा समावेश भएका विषयमा ३ (तीन) दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी पुनः स्पष्ट जवाफसहितको विरण उपलब्ध गराउन पुनः लेखी पठाउने अन्यथा कानूनबमोजिम हुने भनी नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) असार २० गतेको निर्णयबमोजिम अनुरोध छ,’ पत्रमा भनिएको छ ।

गत असार ११ गते उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको भन्दै मन्त्रीले महानिर्देशकलाई सात दिनभित्र जवाफ पेश गर्ने गरी नौ बुँदे स्पष्टीकरण सोधेका थिए । 

तर, गोप्य रुपमा सोध्नुपर्ने विषय सामाजिक सञ्जालमा राखेर प्रचार गरिएको भन्दै महानिर्देशक अधिकारीले स्पष्टीकरणको जवाफ नदिने अडान लिँदै आएका छन् ।

टिप्पणीहरू