काठमाडौँका मेयरले भने, ‘सजाय भोग्न तयार छु तर अदालतको आदेश मान्दिन’

काठमाडौँका मेयरले भने, ‘सजाय भोग्न तयार छु तर अदालतको आदेश मान्दिन’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौँका सिनेमा हलमा भारतीय चलचित्र चलाउन नदिने निर्णयबाट पछि नहट्ने प्रष्ट पारेका छन् । 

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा सीता भारतकी छोरी भन्ने संवाद रहेको र त्यसले नेपालको सार्वभौमिकतामा असर पुगेको भन्दै चलचित्र प्रदर्शनमा रोक लगाएका बालेन अदालतको आदेशपछि पनि टसमस नभएका हुन् । उनले अदालतले दिएको आदेश नमान्नेसमेत बताएका छन् । 

उच्च अदालत पाटनले हिजो भारतीय चलचित्रलगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । उच्चको आदेशलगत्तै मेयरले यस्तो प्रतिक्रिया दिएका हुन् । मुलुकको सार्वभौमिकता र स्वाधिनताको सवाल आउँदा कुनै कानून र अदालत नमान्ने उनले प्रष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्नेवाला छैन ।’ त्यसका लागि आफू जुनसुकै सजाय भोग्न तयार भएपनि काठमाडौंका हलमा भारतीय फिल्म चल्न नदिने उनको अडान छ । 

मेयर साहले चलचित्रका लेखकले नै नेपाल भारतको अधिनमा थियो भन्ने अभिव्यक्ति दिइसकेको सन्दर्भमा फिल्म चल्न दिनुपर्छ भन्नु गुलाम मानसिकताको उपज भनेका छन् । 

‘फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ,’ उनले लेखेका छन्, ‘यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’
 

टिप्पणीहरू