काठमाडौंको सडक छेउका तार हटाउन थालियो

काठमाडौंको सडक छेउका तार हटाउन थालियो

काठमाडौँ महानगरपालिकाले राजधानीका अव्यवस्थित तार व्यवस्थितको काम थालेको छ । राजधानीका न्यूरोड र माइतीघर क्षेत्रका अव्यवस्थित तार व्यवस्थित गर्न लागिएको बताइएको छ ।

महानगरीय प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार आज बिहानदेखि माइतीघर मण्डला र न्यूरोड गेटबाट तार व्यवस्थापनको काम थालिएको हो ।  काठमाडौँ महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीच हिजो भएको बैठकले आजदेखि उक्त कार्य थालिएको बताइएको छ ।

माइतीघर मण्डला र न्यूरोड क्षेत्रका सडक किनारका पोलमा गुजुल्टो पारिएका, चुँडिएका र लत्रिएका तार हटाउने तथा व्यवस्थितको काम थालिएको हो । अव्यवस्थित तारले शहरी सुन्दरतामा ह्रास आएको र दुर्घटनाको जोखिम बढेपछि यसअघि महानगरपालिकाले १५ दिने सूचना जारी गर्दै प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीलाई वैशाख २७ गतेभित्र त्यस्तो तार हटाउन भनेको थियो । 

प्राधिकरणले अव्यवस्थित तार व्यवस्थित बनाउने कामका लागि रुट प्लान समेत सार्वजनिक गरेको छ । माइतीघरदेखि एयरपोर्ट, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, न्यूरोड–बसन्तपुर हुँदै असन, माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरीसम्मको रुट निर्धारण गरिएको छ । 

त्यस्तै, डिल्लीबजार–अनामनगर हुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर, नक्साल–बालुवाटार हुँदै शीतलनिवास, माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर–अस्कल–रानीपोखरी हुँदै सामाखुशी, सोह्रखुट्टे–ढल्को–ताहाचल हुँदै स्वयम्भु, सिनामंगल–पुरानोबानेश्वर हुँदै गौशाला, गौशाला–बौद्धनाथ र कालीमाटी–कुलेश्वर हुँदै बल्खुको रुट प्लान बनाइएको छ । 

प्राधिकरणले यी रुटमा तार व्यवस्थित गर्ने कामका लागि सबै सेवाप्रदायकलाई अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएको छ । अन्थया सेवाप्रदायक आफैँ जिम्मेवार हुनुपर्ने प्राधिकरणले जनाएको छ । तर व्यवस्थित गर्ने क्रममा सेवा प्रदायक संस्थाको नाम वा अनुमतिपत्र नम्बर खुल्ने गरी तारमा ट्याग लगाउनुपर्ने भनिएको छ ।
 

टिप्पणीहरू