मागेजति मन्त्रालय नपाए सरकारमा जाँदैनौं : झलनाथ खनाल

मागेजति मन्त्रालय नपाए सरकारमा जाँदैनौं : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले मागेजति मन्त्रालय नपाए सरकारमा सामेल नहुने बताउनुभएको छ । एकीकृत समाजवादी पार्टीले खेलेको अहम् भूमिकाबाट नयाँ सरकार निर्माण भएको उल्लेख गर्दै नेता खनालले भन्नुभयो, ‘हाम्रो योगदानलाई बेवास्ता गरे एकीकृत समाजवादी सरकारमा सहभागी हुँदैन ।’

कुनै पनि दलको बहुमत नभएकाले सरकारको आयु लामो नरहेको दाबी पनि उहाँले गर्नुभएको छ । ‘तर आशा गरौँ यो सरकार लामो समय टिकोस्,’ उहाँले भन्नुभयो । कुनै पनि दलको बहुमत नपुगेको परिस्थितिमा सरकारको भविश्य जुनसुकै अवस्थामा अस्थिर रहेको नेता खनालको निचोड छ ।

कोशी प्रदेश सरकार गठनबारे बोल्दै उहाँले नयाँ सरकार गठन सजिलो नभएको धारणा राख्नुभयो । मुलुकको समग्र राजनैतिक परिदृष्य पनि सकारात्मक नरहेको सम्मानित नेता खनालको बुझाइ छ ।‘दुई तिहाइको सरकार विघटनको प्रयासपछि अस्थिरताको दौड सुरु भएको’ उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘वर्तमान सन्दर्भमा स्थायित्व र राष्ट्रियता सुदृढ गर्नुको विकल्प छैन । राजनैतिक र आर्थिक संकट गहिरिएको, भ्रष्टाचार बढेको र बेरोजगारी समस्या विकराल बनेको छ ।’

एक अर्को सन्दर्भमा उहाँले कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलन गर्नु व्यर्थ रहेको बताउनुभएको छ । प्रदेशको नामकरण भएको विषयमा गरिने बहस आफ्नो ठाउँमा ठीक भए पनि नामै परिवर्तन गर्ने अभियानमा आन्दोलन गर्नु असान्दर्भिक भएको धारणा नेता खनालले राख्नुभएको छ । 

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका खनालले पाँचथरमा आयोजित पत्रकार सम्मेलनमा उक्त धारणा राख्नुभएको हो । उहाँले प्रदेश नम्बर १ को नामाकरण कोशी राखिएकोमा त्यसविरुद्ध भइरहेको आन्दोलनको सन्दर्भमा औचित्य पुष्टि गर्न गाह्रो हुँदै गएको बताउनुभयो ।

उहाँ पार्टी स्कुल विभागले आयोजना गरेको दुई दिने पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सन्दर्भमा सदरमुकाम फिदिम पुग्नुभएको हो ।
 

टिप्पणीहरू