सचिवहरुको पीडा कसले सुनिदिने ?

सचिवहरुको पीडा कसले सुनिदिने ?

मातहतका कर्मचारीको तनाव सुन्ने अनि समस्या समाधानका लागि पहल गर्नुपर्ने जिम्मेवारीमा रहेका सिंहदरबारका ‘टप ब्यूरोक्रेट’हरुको दुःखेसो पनि कम्तीका छैनन् । राजनीतिक नेतृत्वको चेपुवामा परेर तनाव झेलिरहेका केही कर्मचारीका नेता त 'दबाबमा काम गर्न नसकिने' भन्दै गोजीमा राजीनामा पत्र लिएर हिंड्न थालेको सिंहदरबारभित्र चर्चा छ । 

एकजना सचिवले जनआस्थासँग कुराकानी गर्दै गर्दा गोजीबाट राजीनामा पत्र निकालेर भने,‘राजीनामा पत्र एक महिनादेखि गोजीमा राखेर हिँडेको छु । जुनैबेला पनि मुख्यसचिवलाई बुझाउन सक्छु !’ तत्कालीन एमालेका मन्त्रीले सम्हालेको मन्त्रालयको कर्मचारी प्रशासनमा नेतृत्व गरिरहेका उनी भन्छन्,‘मन्त्री निस्किएर के गर्नु अहिले पनि तर्साइरहेका छन् !’

उनको भनाईअनुसार एमालेले सरकार छोड्ने निर्णय गरिसकेपछि हाल निवर्तमान भैसकेका ति मन्त्रीले करिब ४० जना विभिन्न श्रेणीका कर्मचारीको सरुवा गर्न खोजेका थिए । मन्त्रीको त्यस्तो निर्णयमा सहीछाप गर्न सचिवले नाँइनास्ती गरेपछि दबाब दिन थालियो जुन अहिलेसम्म पनि जारी छ । कर्मचारी सरुवाको विषयमा ति मन्त्रीसँग मत बाझिएपछि च्याप्नसम्म च्यापेको उनले गुनासो गरे ।

कहिले संसदीय दलको कार्यालयमा बोलाउने त कहिले पिए पठाएर दबाब दिइएको र सामदाम दण्ड भेद सबै प्रयोग गरेर फकाउने र तर्साउने काम हरेक दिन हुने गरेको उनी बताउँछन् । यद्यपि, सचिव ‘टस मस’ भएपछि मन्त्रीसंग डिलिङ गरेका कर्मचारीहरुले उनीसमक्ष हारगुहार गर्न थालेका छन् ।  

‘जुन दिन एमालेले सरकार छोड्यो, सोही रात करिब १० बजेतिर मन्त्रालयबाट बाहिरिएका मन्त्रीको नाम र फोटो वेभसाइटबाट हटाउन निर्देशन आएको थियो, त्यो पनि एसएमएसमार्फत’, ती सचिवले जनआस्थालाई म्यासेज देखाउँदै भने । निर्देशन नेपालीमा नभई अङ्ग्रेजीमा लेखिएको थियो । म्यासेजमा उनलाई निवर्तमान मन्त्रीको एउटा पनि निर्णय कार्यान्वयन नगर्न भनिएको छ । 

सबैको अनेकथरीको निर्देशन सुन्दा सुन्दै तनावमा पर्ने कर्मचारी उनीमात्र होइनन् । अरु सचिव, सहसचिवहरु पनि राजनीतिक नेतृत्वको दबाब खेप्दाखेप्दै आजित भैसकेका छन् । तर, सचिवहरुलाई तर्साउनका लागि खडा गरिएको अतिरिक्त समूहमा पर्ने भयले कोही पनि बोल्न चाहाँदैनन् । माथिको आदेश नटेर्नेबित्तिकै अतिरिक्तमा फालेर सजाय दिने डर बोकेर काममा खटिनुपर्ने बाध्यता उनीहरुमा देखिन्छ ।

मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमै कर्मचारी प्रशासनको नेतृत्व मानिने मन्त्रालयका सचिवहरु यसरी निरिह हुँदा देश कसरी चल्ला ? यसबारे मुख्यसचिवको ध्यान गएको छ कि छैन होला ? आफूलाई पीडित सचिव भन्न चाहाने ति कर्मचारीको प्रश्न छ - हमी सबैको अभिभावक मुख्यसचिव नै हो, हाम्रा समस्या र गुनासो उहाँले सुन्नुपर्छ !

टिप्पणीहरू