नेपाली सेनाबारे कैलाली पुर्याएर जानकारी दिइयो

नेपाली सेनाबारे कैलाली पुर्याएर जानकारी दिइयो

सेनाले आयोजना गरेको साताव्यापी रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । रक्षा क्षेत्रमा क्रियाशील मिडियाकर्मीहरुलाई सेना र उसका कामकारबाहीबारे जानकारी दिन आयोजित कार्यक्रम आज सम्पन्न भएको बताइएको छ । 

सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सञ्चारमाध्यमका २० जन सम्वाददाताहरुको सहभागितामा गत फागुन १४ गतेदेखि कैलालीस्थित सुदूरपश्चिम पृतना हेडक्वार्टरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । 

कार्यक्रममा संवाददाताहरुलाई सेनाका विभिन्न निकायको काम, कर्तव्य र जिम्मेवारीका बारेमा प्रस्तुतीकरण तथा अन्तरक्रियासहितको जानकारी दिइएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही क्रममा सहभागीहरुलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत इलाकाको भ्रमणसमेत गराइएको छ । 

सुदूरपश्चिम पृतनापति उपरथी विजय थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवम् नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी, पृतनाका अधिकृतहरुको उपस्थिति थियो । आफ्ना बारेमा जानकारी गराउन यस किसिमका कार्यक्रमहरु यसअघि पनि सेनाले सञ्चालन गर्दै आएको छ ।

टिप्पणीहरू