एकैदिन दुई दर्जन भीआईपी विमानस्थलबाट ओहोरदोहोर

एकैदिन दुई दर्जन भीआईपी विमानस्थलबाट ओहोरदोहोर

हिजो एक दिनमा झण्डै दुई दर्जन उपप्रधानमन्त्री, मन्त्री, भूतपूर्व मन्त्री तथा विशिष्ट अधिकारीहरु राजधानीबाट बाहिर र विभिन्न जिल्लाबाट राजधानी फर्केका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन बिहान सिमरा जानुभयो भने उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ नेपालगन्जबाट मध्यान्ह पोखरा जानुभएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ हिजै बेलुकी पोखराबाट काठमाडौं फर्कनुभयो भने पर्यटनमन्त्री सुदन किराती काठमाडौंबाट अपरान्ह पोखरा जानुभएको हो । रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणबाट दिउँसो नयाँ दिल्ली हुँदै फर्कनुभयो भने उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देन पनि दिउँसो भद्रपुर जानुभएको बताइन्छ ।

काठमाडौंबाट पूर्व गृहमन्त्री राम बहादुर थापा हिजो बिहान भैरहवा जानुभएको थियो । पूर्व शिक्षामन्त्री दिनानाथ शर्मा बिहान पोखरातर्फ प्रस्थान गर्नुभएको हो । त्यसैगरी पूर्वमन्त्री वसन्त नेम्वाङ पनि बिहान विराटनगर जानुभएको थियो ।

हिजै अर्थमन्त्री काठमाडौंबाट बिहानको समयमा धनगढी प्रस्थान गर्नुभएको थियो । पूर्वमन्त्री कर्णबहादुर थापा पनि हिजै धनगढी जानुभएको हो । तर उहाँहरको उडान भने फरक थियो । त्यसैगरी पूर्व गृहमन्त्री बुद्धिमान तामाङ काठमाडौंबाट नेपालगञ्ज र पूर्व सभामुख सुवास नेम्वाङ पूर्वमन्त्री योगेश भट्टराईसँगै हिजो सुर्खेत जानुभएको विमानस्थल स्रोतले बताएको छ ।

उता मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि हिजो मध्यान्ह काठमाडौंबाट जनकपुर जानुभयो । लगत्तै पूर्वमन्त्री मातृकाप्रसाद यादव जनकपुर प्रस्थान गर्नुभएको थियो । 

काठमाडौंबाट पूर्व गृहमन्त्री बालकृष्ण खाँण हिजो अपरान्ह भैरहवा जानुभयो । साँझ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र पूर्व गृहमन्त्री विमलेन्द्र निधि जनकपुरबाट काठमाडौं आउनुभयो ।काठमाडौंबाट नेपाली काँग्रेसका उपसभापति धनबहादुर गुरुङ र पूर्वमन्त्री जीवनराम श्रेष्ठ दिउँसो पोखरा जानुभएको हो । त्यसैगरी पूर्व अर्थमन्त्री जनार्दन शर्मा दिउँसो विराटनगरबाट काठमाडौं आउनुभएको बताइन्छ ।

सेनेगलको नयाँ दिल्लीस्थित दूतावासका सैनिक सहचारी अब्दुलेज ट्रेओर एयर इण्डियाको उडानमा हिजो दिउँसो काठमाडौं आए भने मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सार हिजो अपरान्ह दुबई गएका छन् । त्यसैगरी भिस्तारा एयरको उडानमा नयाँ दिल्लीबाट दक्षिण कोरियाली दूतावासका सैनिक सहचारी हान जोनचुन हिजो अपरान्ह काठमाडौं आएको बताइन्छ ।

टिप्पणीहरू