विदेशमा बसेर स्वेदशका महिलाको चरित्रहत्या गरेका यादव विमानस्थलमा पक्राउ

विदेशमा बसेर स्वेदशका महिलाको चरित्रहत्या गरेका यादव विमानस्थलमा पक्राउ

मलेसियामा बसेर सामाजिक सञ्जालमार्फत महिलासहित नाबालिग बालिकाको चरित्रहत्या गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

रौतहटको देवाही गोनही नगरपालिका–५, टिकुलियाका २२ वर्षीय हरिहरप्रसाद यादवलाई नेपाल प्रहरीको साइबर ब्युरोले आज नियन्त्रणमा लिएको हो । रोजगारीका लागि मलेसिया पुगेका उनले एक महिला र उनकी नाबालिका बहिनीसमेत सँगै भएको तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको उजुरीका आधारमा पक्राउ गरेको ब्यूरोले जनाएको छ । 

उजुरीलगत्तै अनुसन्धानका क्रममा उक्त प्रोफाइल विदेशबाट सञ्चालित देखिएकाले राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोगको आधारमा प्रहरीले यादवलाई मलेसियाबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरबाट नियन्त्रणमा लिएको बताइएको छ । 

पक्राउ परेका उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू