काठमाडौंका दर्जनौँ स्थानमा भोलि दिनभर बत्ती नआउने

काठमाडौंका दर्जनौँ स्थानमा भोलि दिनभर बत्ती नआउने

काठमाडौंको विभिन्न स्थानमा भोलि दिनभर विद्युत आपूर्ति बन्द हुने भएको छ । स्युचाटारदेखि बालाजु सबस्टेशनसम्म रहेको १३२ केभी प्रसारण लाइनको मर्मतका लागि दिभर विद्युत अवरुद्ध गर्न लागिएको हो । 

नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित उक्त प्रसारण लाइन कन्डक्टर अपग्रेडिङ आयोजनाले आज सूचना जारी गर्दै बिहान १० देखि दिँउसो ४ बजेसम्म विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ । प्रशारण लाइनको पुरानो कन्डक्टर (तार) लाई झिकेर नयाँ कन्डक्टर राख्न लागिएको जनाइएको छ । 

आयोजनाका अनुसार कुलेश्वर र बालाजु वितरण केन्द्रअन्तर्गत रहेको सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक, सशस्त्र प्रहरी बलको मुख्यालय, सानो भर्याङ्ग, ठूलो भर्याङ्ग, कामना स्कुल, अन्नपूर्ण चोक, ढुंगेधारा र तरकारी बजार (बालाजु सबस्टेशनपछाडि) बत्ती जानेछ । 

यता, वैशाख १७ र १८ गते पनि कुलेश्वर वितरण केन्द्रअन्तर्गतका क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने आयोजनाले जानकारी दिएको छ । सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बलको मुख्यालय क्षेत्रमा बिहान १० देखि २ बजेसम्म बत्ती बन्द हुनेछ ।
 

टिप्पणीहरू