वैदेशिक रोजगारको नाममा ठगी बढेपछि सचेतको प्रयास

वैदेशिक रोजगारको नाममा ठगी बढेपछि सचेतको प्रयास

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका मुलुक पठाइदिने प्रलोभनमा ठगी गर्ने क्रम बढेपछि सर्वसाधारणलाई सचेत गराएको छ । 

मन्त्रालयले ती देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर बढ्दै गइरहेको ठगी सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ मा कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने प्रावधान छ । 

त्यस्तै, झुट्टो आश्वासन वा प्रलोभन देखाई रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जनाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई गरी निजलाई तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ । 

कडा कानूनी व्यवस्थाका बाबजुद पछिल्लो समय विदेशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर, युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका देशमा रोजगारीको अवसर छ भनी सामाजिक सञ्जालहरुमा भ्रामक सूचना प्रेषित गरी वा आम नागरिकमा भ्रम सिर्जना गरी ठगी गर्ने गरेको पाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

‘यस्ता गैरकानूनी कार्य नियन्त्रण गर्न मन्त्रालय, अन्तर्गतका निकाय तथा सरकारका अन्य नियमनकारी निकायहरु प्रतिबद्ध रहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न प्रक्रिया शुरु गर्नुअघि उक्त संस्था इजाजतपत्र प्राप्त हो वा होइन र वैदेशिक रोजगारको लागि पूर्व स्वीकृति लिएको छ वा छैन भनी वैदेशिक रोजगार विभागको बेवसाइटमार्फत यकीन गर्न सूचित गराइन्छ ।’

त्यस्तै, कोही कसैको प्रलोभनमा परी बिना प्रमाण तोकिएको शुल्कभन्दा बढी रकम नदिन वा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउन पनि भनिएको छ । मन्त्रालयले वैदेशिक रोजगारीमा जानका लागि जिटुजी प्रणाली, इजाजत प्राप्त संस्थाबाट आधिकारिक र कानूनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगारीमा जाने/पठाउने प्रणाली र व्यक्तिगत प्रयासमा सम्बन्धित देशको रोजगारदातासँग श्रम सम्झौता तथा भिसा प्राप्त गरी श्रम स्वीकृति लिएर जाने प्रणाली विद्यमान रहेको पनि जानकारी गराएको छ । 

यससम्बन्धमा आवश्यक सूचना, जानकारी गुनासो एवम् उजुरीका लागि श्रमासान कल सेन्टर, मन्त्रालय वा मातहतका निकायमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

टिप्पणीहरू