सिधा कुरा डटकमका स्रोतलाई हिजो प्रहरी हिरासत, आज साधारण तारेख

सिधा कुरा डटकमका स्रोतलाई हिजो प्रहरी हिरासत, आज साधारण तारेख

सर्वोच्च अदालतले ‘सिधा कुरा डटकम’ का प्रकाशक युवराज कँडेल, सम्पादक नवीन ढुंगाना र स्टिङ अपरेशनकर्ता राजकुमार तिमिल्सिनालाई साधारण तारिखमा छाडेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले उनीहरुलाई साधारण तारिखमा छाड्न आदेश दिएको हो । 

त्यस्तै, सर्वोच्चले अडियोमा नाम लिइएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, पत्रकार सुरेन्द्र काफ्लेसहित अधिवक्ता हरि उप्रेती, किशोर विष्ट, किशोरकुमार विष्ट र प्रहरी उपरीक्षक (एसपी) सञ्जय थापासँग लिखित जवाफ माग गरेको छ । 

उक्त मुद्दाको अर्को पेसी जेठ ४ गतेका लागि तोकिएको सर्वोच्चले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र जिबी राईको सुनौलो परियोजना ‘ग्यालेक्सी फोर के’ मा प्रसारित सिधा कुरा कार्यक्रमको अनलाइन संस्करण ‘सिधा कुरा डटकम’ ले ‘द डार्क फाइल’ नामक कार्यक्रमबाट शंकास्पद अडियो सार्वजनिक गरेको थियो । 

‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन’ शीर्षकको समाचार सामग्रीमा उठाइएको विषयवस्तु कपोकल्पित र भ्रामक भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । सोही मुद्दामाथि भएको सुनुवाईपछि सर्वोच्चले आज उक्त आदेश दिएको हो ।

टिप्पणीहरू