बुटवलमा चार भाषामा नागरिक बडापत्र

बुटवलमा चार भाषामा नागरिक बडापत्र
सुन्नुहोस्

ऋषि भट्टराई 

बुटवल उपमहानगरपालिकाले चलनचल्तीका भाषामध्ये मुख्य चार भाषामा नागरिक बडापत्र जारी गरेको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषा भाषीका सेवाग्राहीको सहजताका लागि उपमहानगरपालिकाले अस्तिदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र ल्याएको हो । 

बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा चार भाषामा नागरिक बडापत्र तयार पारिएको छ । नगर प्रमुख खेलराज पाण्डेयले जनसंख्याको आधारमा चार भाषामा बडापत्र राखिएको जानकारी दिए । आगामी दिनमा बडापत्रमा थप केही भाषा पनि समेटिने छ । 

‘हामीले बुटवलमा बोलीचालीका मुख्य चार भाषाको बडापत्र तयार गरेका छौं । आवश्यकताअनुसार अरु भाषामा पनि बडापत्र तयार गरेर सबैलाई अपनत्व महशुस गराउन प्रयास गरिने छ,’ उनले भने । स्थानीयस्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरुको संलग्नतामा बडापत्र तयार पारिएको हो । भूगोलअनुसार भाषामा फरक आउनसक्ने भएकाले बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषाका साथै अन्यत्रका भाषामा मेल नखान सक्छ ।

विज्ञहरुको सल्लाहअनुसार बुटवलको चलनचल्तीका भाषाअनुसार यतिखेर बडापत्र बनाइएको हो । यसमा केही सुधार गर्नुपर्ने भएमा सुझाव सल्लाहको अपेक्षा उपमहानगरले राखेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या छन् । बडापत्र प्रयोगले सेवाग्राहीले पालिकाबाट लिने काममा सहजता आउने जनाइएको छ ।

टिप्पणीहरू