आरो र सकेटले निम्त्याएको संकट

आरो र सकेटले निम्त्याएको संकट
सुन्नुहोस्

छिमेकी देश चीन लैजान व्यापारीले अग्रिम रूखमा दाना नलाग्दै खरिद बिक्रीको सम्झौता गरेको बुद्धचित्तको रुख सकेट बम राखेर काटेको अभियोगमा दुई वटा किटानी जाहेरी दर्ता भएका छन् । तेमाल गाउँपालिका–६ घर भई बनेपा–६ बस्ने ३० वर्षीय समिप त्रिपाठी र रोशी गाउँपालिका–५ बस्ने ४६ वर्षीय निरबहादुर तामाङले डाँकासम्बन्धी कसुरमा जाहेरी दिएका हुन् ।

किटानी जाहेरीमा तेमाल गाउँपालिका ६ घर भएका ४१ वर्षीय सिजन भन्ने मानबहादुर तामाङ, सोही ठेगानाका २८ वर्षीय कविन्द्र तामाङ, सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१० घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका– १० बस्ने ४७ वर्षीय सत्यम लिम्बू, रोशी गाउँपालिका ५ बस्ने वर्ष ४१ का सागर मैनाली भन्ने रामकृष्ण मैनाली, रोशी गाउँपालिका ५ बस्ने २७ वर्षीय विजय हुमागाईं, मानबहादुर र कविन्द्र तामाङसँगै बस्ने चाइनिज नागरिक वर्ष ३८ का याङ कैलिङ, तेमाल गाउँपालिका– ३ बस्ने ४० वर्षीय प्रभात भन्ने दुर्गालाल तामाङ र रोशी गाउँपालिका ५ बस्ने ३६ वर्षीय श्यामकृष्ण मैनाली मुछिएका छन् । प्रहरीले चार जनालाई समातेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा जनमुक्ति सेनाका पूर्वकमाण्डर प्रभात भनिने दुर्गालाल तामाङ, धीरज भनिने श्यामकृष्ण मैनाली, सिजन भनिने मानबहादुर तामाङ छन् । पाँच जना अझै फरार छन् ।

प्रभातलाई काठमाडौँस्थित वनस्थलीबाट बर्गर हाउसमा नयाँ वर्ष मनाइरहेका बेला पक्राउ गरिएको हो भने मानबहादुरलाई सकेट बम राखेकै दिन समातिएको थियो । समिप त्रिपाठीले जाहेरीमा भनेका छन् – ‘साविक सिसाखानी गाविस–९ हालको रोशी गाउँपालिका–५ स्थित कित्ता नम्बर ९७९ को क्षेत्रफल ०–६–०–० जग्गामा रहेको ठूलो बुद्धचित्तको रूखमा फल्ने दानाहरू अघिल्ला वर्षहरूमा सम्झौता गरी कारोवारसमेत भएको थियो । पछिल्लो समय जाहेरी दिएकामध्ये मानबहादुर तामाङ समेतले बुद्धचित्तका दानाहरू उद्यारो माग्ने, सम्झौताबमोजिमको रकम नदिने गरेपछि जग्गाधनी ठकुरानी तामाङले २०८१ को सिजनमा फल्ने दानाहरूको ९० लाख रूपैयाँँमा किनबेचको सम्झौता २०८० साउन १९ गते भएको थियो । सोहीअनुसार बैनाबापतको ५० लाख रूपैयाँ भुक्तानी पनि भयो । उक्त रूख नै ५ वर्षको लागि मौखिक सम्झौता गरी लिखतसमेत गरिएको थियो ।

प्रत्येक वर्ष स्थानीय तहलाई बुझाउने करबाहेक माला धनीलाई ९० लाख रूपैयाँँ दिने गरी कारोवार गर्ने सहमति भएको थियो । २०८० चैत २९ गते राति साढे ११ बजे हातहतियारसहित ४ ठाउँमा बम राखी घरमा सुतेका परिवार र छिमेकीलाई समेत बाहिर निस्कन नदिई गोली ठोक्ने धम्की दिँदै विद्युतीय आरा प्रयोग गरी बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने बहुमूल्य माला फल्ने रूख काटिदिँदा घर जग्गा धितो राखी गरेको लगानीसमेत डुबेको छ । उक्त सम्झौताबाट ५ करोड ४० लाख रूपैयाँ क्षति भएकाले असुलउपर गरी डाँका, विस्फोटक पदार्थ र संगठित अपराधमा कारबाही गरिपाऊँ ।’

रोशी गाउँपालिका–५ नागबेलीस्थित निरबहादुर र ठकुरानी तामाङको घरका ढोका र आँगनमा राखिएका चारवटा सकेट बम नेपाली सेनाको कालीजंग गण धुलिखेलले निष्क्रिय पारेको थियो भने विस्फोटक पदार्थसहित गएको १५ / २० जनाको समूहले रोशी गाउँपालिका– ५ नागबेली निवासी ठकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बुद्धचित्तको रूख काटेको थियो । २०७७ सालमा निवेदन दिएर पीडित भएका मानबहादुरलगायत अहिले लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन् । चोरको खुट्टा काट् भन्दा उचालेजस्तै मानबहादुर आफैँले डाँका मुद्दा दर्ता गरेका थिए । सोही अभियोगमा चार वर्षपछि उनै पक्राउ परेका छन् ।

सागर मैनालीले भने ६ महिनादेखि बनेपा र आसपासका स्थानमा हतियारसहित जनअदालतको फैसला भन्दै विवादित स्थानमा मिलापत्र गर्ने, चन्दा असुल्ने तथा विभिन्न स्थानमा आतंक मच्चाउँदै आएका थिए । त्यसको सूचना प्रहरीले लिएको भए पनि चासो दिएको थिएन । फलस्वरूप उनकै नेतृत्वमा सकेट बम राखेर बुद्धचित्तको रूख ढालिएको हो भने सिन्धुलीमा एनसेलको टावरमा क्षति पुर्‍याइएको थियो ।

टिप्पणीहरू