करोडौं राजस्व गुमाउँदै ठेक्काको प्रपञ्च !

करोडौं राजस्व गुमाउँदै ठेक्काको प्रपञ्च !
सुन्नुहोस्

नदीजन्य पदार्थको ठेक्काबाट करोडौं राजस्व संकलन गर्दै आएका रुपन्देहीका पालिकाहरुले यसपटक ठेक्का लगाउनेतर्फ चासो दिएका छैनन् । ठेक्का ढिलो गर्दा रातको समयमा चोरी निकासी बढ्दै गएको बताइन्छ । एकातिर चोरी निकासी बढ्दै गएको छ भने अर्कोतिर जिल्लामा गौरवको आयोजनाको नाममा राज्यको राजस्वमा ठग्ने काम भएको छ । 

गौरवको आयोजनाको नाममा सस्तो दर रेटमा ठेक्का लिएर ठेकेदारले महँगोमा नदीजन्य पदार्थ बेच्ने गरेका बग्रेल्ती तथ्य प्रमाणहरु विगतका छन् । बुटवल उमहानगरपालिकाले तिनाउ नदीको ४३ लाख घनफुट नदीजन्य पदार्थ प्रति घनफिट १८ रुपैयाँको दरले बिक्री गर्ने भएको छ । जबकी सोही नदीको नदीजन्य पदार्थ तिलोत्तमा नगरले ३३ रुपैयाँमा ठेक्का आह्वान गरेको छ । 

तिलोत्तमाको तुलनामा बुटवलले ६ करोड ४५ लाख राजस्व गुमाउँदै नदीजन्य पदार्थको ठेक्का आह्वानको तयारी गरिसकेको बताइन्छ । उपमहानगर प्रमुख खेलराज पाण्डे सादगी नेताको रुपमा चिनिन्छन् । उनी संघीयताको असल अभ्यास हुनुपर्ने मान्यतामा छन् । तर उनै पाण्डे यतिबेला संघ र प्रदेश सरकारको चेपुवामा परेपछि उपमहानगरको ६ करोड ४५ लाख राजस्व गुमाएर भए पनि राष्ट्रिय गौरवको आयोजनालाई प्रगतिनगर घाट, सृजनानगर घाट, हरिहरपुर घाट, धन्दापुर घाट, सौराह घाटबाट नदीजन्य पदार्थ ठेक्का सम्झौता गर्न लागेको स्रोतको दाबी छ । 

यस्ता आयोजनाको नाममा विगतमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा–बुटवल सडक खण्डको नाममा लाखौं घनफुट विचौलिया ठेकेदारले बेचेर खाएका थिए । जसले गर्दा राष्ट्रिय गौरवको आयोजनानै बदनाम भएको थियो । अहिले फेरि राष्ट्रिय गौरवको आयोजनाको नाममा केही बिचौलिया सोही नाममा प्रक्रिया अघि बढाउन अग्रसर भएको पाइएको हो ।

टिप्पणीहरू