निलम्बित कार्यकारी निर्देशकले २४ करोड भ्रष्टाचार गरेको अख्तियारको ठहर

निलम्बित कार्यकारी निर्देशकले २४ करोड भ्रष्टाचार गरेको अख्तियारको ठहर

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ ५७ पैसाको भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकारी निर्देशकको पदमा २०७८ चैत २४ सम्म कार्यरत रहेको र मिति २०७८ चैत २५ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा नियुक्त भई सो अवधिमा आयआर्जन गरेको पारिश्रमिक बचत, भ्रमण भत्ता, शेयर बिक्री, सवारी साधन बिक्री, तथा बैंक निक्षेपको ब्याजसमेत गरेर उनको आम्दानी एक करोड १९ लाख २४ हजार ८४६ रुपैयाँ मात्रै देखिएको जानकारी दिएको छ ।

जारी विज्ञप्तिमा निजको कुल खर्च तथा लगानी २४ करोड ९४ लाख ७१ हजार १७१ रुपियाँ देखिएकाले स्रोत नखुलेको रकम २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ हुन आएको हो । उनलाई सोही रकम बराबरको बिगो कायम गरेर कैद र बिगो बराबरको जरिवानाको सजाय माग गरिएको उल्लेख छ ।

पौडेलका सहोदर दाजु अनिल पौडेललाई समेत प्रतिवादी कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको सजाय हुन आज विशेष अदालत काठमाडौँमा अरोपपत्र दायर भएको प्रवक्ता नरहरि घिमिरेले बताएका छन् । 

पौडेल २०६१ जेठ २० मा राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारमा प्रशासकीय अधिकृतको पदमा करार सेवामा नियुक्त भएका थिए । २०६२ माघ २८ सम्म कार्यरत पौडेल २०६५ असार १२ मा सोही संस्थामा कम्प्युटर इन्जिनियर पदमा करारमा नियुक्त भई २०७५ साउन २० सम्म विभिन्न पदमा करारमा कार्यरत भएका हुन् । त्यसको भोलिपल्ट साउन २१ गते केन्द्रको निर्देशक पदमा नियुक्त भएका थिए ।

टिप्पणीहरू