विश्व पर्यटन र तीनवर्षे ‘सकस !’

विश्व पर्यटन र तीनवर्षे ‘सकस !’

– निनाम लोवात्ती 

सन् २०२४ को मार्चमा नेपालमा एक लाख २८ हजार १६७ जना विदेशी पर्यटक आए । त्यसो त गएको फेब्रुअरीमा पनि ९७ हजार ४२६ जना आएका थिए । जनवरीमा ७९ हजार एक सय जना आएको रेकर्ड छ ।

यही रफ्तार रहे सन् २०२४ को १२ महिनामा १४ लाख ५०–६० हजारदेखि १५ लाख ३०–४० हजारसम्म पुग्ला कि ? खासमा नेपाल सरकारले तुरुन्तै अन्तर्राष्ट्रिय हवाई उडान थप्न सके साढे १७ लाखदेखि १८ लाखसम्म पुग्ने सम्भावना देखिन्छ । २०१९ को डिसेम्बर अन्तिममा हुपेई प्रान्तको राजधानी वुहानबाट शुरु भएको ‘कोभिड–१९’ विश्वव्यापी रूपमा फैलन शुरु भएपछि त्यसको नराम्रो असरस्वरूप सन् २०२० र सन् २०२१ मा धेरै कमले मात्रै नेपाल भ्रमण गरेका थिए । सन् २०२२ मा भने विश्व पयर्टनले गति लिन थाल्यो ।

कोभिड–१९ फैलिन शुरु भएपछि विश्वको समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पर्यटन उद्योग कम्तीमा पनि ८८–९० प्रतिशतदेखि ९४–९६ प्रतिशतले चल्नै नसक्ने अवस्थामा पुगेको थियो । यसरी कोभिड–१९ ले विस्तारै विस्तारै विश्वव्यापी महामारीको रूप लिएपछि तत्कालै विभिन्न देशका सरकार प्रमुखहरूले एक देशबाट अर्को देशमा जाने यात्रुहरूलाई (हवाइजहाज, रेल, बस, कार, जिप आदि यात्रामाथि) प्रतिबन्ध लगाउन थाले । जसले गर्दा हवाई यातायात, रेल, बस, कार, जिप व्यवसायी र होटल व्यवसायीले नराम्रोसँग मार खानुपर्‍यो । हेर्दा हेर्दै विश्व नै एक किसिमले सुनसान (श्मशान !) बन्न पुग्र्‍यो ।

तथ्यांक हेर्दा विश्वका ७० करोड ४५ लाख २१ हजार ५१५ जनामा (कोभिड–१९) देखिएको छ भने ७० लाख आठ हजार ७६६ जनाले यसैका कारण अमूल्य जीवन गुमाएका छन् । त्यस्तै ६७ करोड ५३ लाख ७२ हजार ५७ जना पूर्णरूपमा निको भएर घर फर्केका छन् । भनिन्छ, एक समयमा ८७ करोड मनिस कोरोना भाइरस महामारीको प्रकोपमा परेका थिए ।

बल्ल सन् २०२३ मा आएर विश्व पर्यटन क्षेत्रमा ‘अप–राइज’ शुरु भएको संकेत मिल्दै छ । किनभने सन् २०२३ मा ९१५ मिलियन पर्यटकले विश्वका विभिन्न देशको भ्रमण गरेका छन् । सन् २०२२ मा पनि ९ सय मिलियन अर्थात् ९० करोड पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए । जबकि सन् २०२१ मा चाहिँ ६६७ मिलियन पर्यटकले विश्व भ्रमण गरेका थिए । सन् २०२० मा त ४ सय १५ मिलियन पर्यटकले मात्रै विश्वका विभिन्न देशको भ्रमण गरेका थिए । सन् २०१९ मा एक दशमलव पाँच बिलियन अर्थात् एक अर्ब ५ करोड पर्यटकमात्र विश्व भ्रमण गर्न निक्लेका थिए । 

सन् २०१९ मा पर्यटन इतिहासमा हालसम्मकै धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यो संख्या झण्डै १२ लाख थियो । सन् २०२० मा भने दुई लाख ३० हजार ८५ जना विदेशी मात्रै नेपाल आए । सन् २०२१ मा त १ लाख ३१ हजार विदेशी आएका थिए तर सन् २०२२ मा लगभग दोब्बरले बढेर ६ लाख १४ हजार १४८ जनाले नेपाल रोजे । सन् २०२३ मा १० लाख १४ हजार चानचुन आए । नेपाल आउने विदेशीको संख्या बढिरहेको भए तापनि यहाँ रहँदा, बस्दा गर्ने खर्चको सीमा कसरी बढाउने ? नेपाल बसाई अवधिलाई कसरी बढोत्तरी गर्न सकिन्छ ? भन्ने सम्बन्धमा विचार–मन्थन शुरु गर्नुपर्ने देखिन्छ । 
 

टिप्पणीहरू