गगन आउँदा कैलालीका कांग्रेसको भागाभाग

गगन आउँदा कैलालीका कांग्रेसको भागाभाग
सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापा हुलाकी राजमार्ग आसपासको देशव्यापी कार्यक्रम अन्र्तगत कैलाली आउँदा कांग्रेसका अगुवा नेता कार्यकर्ताको भागाभाग भएको छ । 

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत २७ गते नै महामन्त्री गगन थापाको कार्यक्रमबारे सुदूरपश्चिम प्रदेश कमिटीका सभापतिको नाममा पत्र लेखेर जानकारी गराउँदा पनि कांग्रेसका अगुवा नेता कार्यकर्ता गगनको कार्यक्रममा सहभागी नहुँदा आश्चर्य प्रकट गरिएको छ । 

कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर मात्र होइन महामन्त्री मेघराज खड्का पनि कार्यक्रममा देखिएनन् । सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणाका कारण देउवाबाट चिढिएका भनिएका प्रदेशका अर्का महामन्त्री नरनारायण शाह मनु भने कार्यक्रममा सक्रिय देखिएका थिए । शाह कैलालीमा दुई कार्यकाल सभापति भैसकेका छन् । गगनले हिजो र आज कैलालीको हुलाकी राजमार्ग र धनगढीका विभिन्न कार्यक्रममा समय खर्चिएका थिए ।

कैलालीबाट डा. आरजू, डा. रणबहादुर रावल, डा. जीवनकुमारी राना, रामजनम चौधरी, इश्वरी न्यौपाने, नृपबहादुर वड र शुशिला मिश्र गरर सात जना केन्द्रीय सदस्य रहेका छन्  । तर उनीहरु कोही पनि गगनको कार्यक्रममा देखिएनन् । नृपबहादुर वड बझाङको उपचुनावमा गएको बाहेक अरु कोही पनि पार्टीको अरु काममा खटिएको सूचना कांग्रेससँगै छैन । 

कार्यक्रममा कैलालीका सभापति नारायणदत्त भट्ट पनि आएनन् । उनले उपसभापति खेमराज चौधरीलाई कार्यबहाक दिएकोले चौधरीकै सभापतित्वमा कार्यक्रम गरिएका थिए । सभापति भट्ट राष्ट्रिय सभा पनि छन् । कार्यक्रममा नआउनेहरु प्राय सबै सभापति देउवा पक्षका हुन । देउवा पक्षका मानिने कैलाली सचिव केशव मिश्रले भने कार्यक्रम सञ्चालन गरेका थिए । 

डा. आरजू धनगढी आउँदा सबै कार्यक्रममा देखिने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु प्रकाशबहादुर देउवा, शिवराज भट्ट पनि धनगढीमा भएर पनि कार्यक्रममा आएनन् । प्रदेश सभामा कांग्रेसका १८ जना छन् ती सबै धनगढीमै हुँदा पनि बाजुराकी समानुपातिक सदस्य जुना दानी मात्र कार्यक्रममा देखिइन् । 

कार्यक्रममा विगतमा कोइराला परिवारसँग जोडिएका नेता, कार्यकर्ता मात्र अत्याधिक बढी थिए । 

गगन आउदा बिरामी बढे

केन्द्रले, प्रदेश, प्रदेशले कैलाली जिल्ला कार्य समितिलाई गगन आउने लिखित परिपत्र पठाइएको थियो । जिल्लाले प्रदेश निर्वाचन क्षेत्रीय समिति र नगर कमिटीलाई पठाएको थियो । तर सभापति देउवापक्षीय क्षेत्र र नगर सभापतिले आफूहरु बिरामी भएको भन्दै गगनको कार्यक्रम बहिस्कार गरेका छन् । त्यसरी बहिस्कार गर्नेमा क्षेत्र नम्बर २ का  सभापति विष्णु ढकाल, ४ का ललित रोकाया, ५ का भीम पडाल, धनगढी उपमहानगरका सभापति यज्ञराज उपाध्याय, कैलाली गाउँपालिका वडानम्बर ७ का वडाअध्यक्ष दिपेन्द्र बम लगायत छन् । 

कांग्रेसहरु यसरी हराएपछि आज धनगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारी विमलप्रकाश जोशीले धनगढीमा ११ वडा कांग्रेसले जितेको छ कति जना आउनु भएको छ ? जिल्ला र नगरमा कति जनाको कमिटी छ ? कति आउनु भएको छ ? भन्दै प्रश्न गरेका थिए । तर एक जनाको पनि हात उठेन । 

धनगढीमा बोल्दै महामन्त्री थापाले मुलुकमा सानासाना दोकानले घर झगडा बढाएकोले तिनीहरु बन्द गरेर काम गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले रेशम रन्जिता विवादलाई सङ्केत गर्दै त्यस्तो बताएका हुन् । कांग्रेसले आगामी एक वर्षसम्म सरकारमा जान नहुने बताए । उनले २०८१ सालमा सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटारतिर पनि फर्केर नहेरौँ, आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताउँदा ताली पाएका थिए ।

गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी अन्त्य गर्नुपर्ने उनले बताए । उनले सरकारमा मन्त्री बन्दा गुट बलियो बन्ने गरेको आरोप आएको बताउँदै देश बनाउन लाग्नुपर्ने जिकिर गरे । उनले अहिले मिसन ८४ नभएर शुसासन र विकासको विषयमा छलफल गर्नुपर्ने बताए ।

टिप्पणीहरू