रञ्जितालाई रेशमले हटाउन खोजेपछि...

रञ्जितालाई रेशमले हटाउन खोजेपछि...

नागरिक उन्मुक्ति पार्टीको विवाद सतहमा आउनुको मूल रहस्य खुलेको छ । संरक्षक रहेका रेशमलाल चौधरी टीकापुर महाअधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि रञ्जितालाई दलको नेताबाट कारबाही गरेसँगै विवाद बढेको पाइएको हो । 

उन्मुक्तिका प्रतिनिधि सभामा चार जना सदस्य छन् । तीमध्ये तीनजना गंगाराम, लालवीर र अरुणलाई धम्क्याएर रेशमले रञ्जितालाई दलको नेताबाट हटाएको बताइन्छ । रेशमले रञ्जिताको ठाउँमा गंगारामलाई दलको नेता बनाएका थिए । त्यो निर्णय सभामुख देवराज घिमिरेलाई समेत दिइएको बताइन्छ ।

त्यो कुरा जब रञ्जिताले थाहा पाइन् उनी अचम्मै परिन्, श्रीमान्ले त्यतिसम्म गर्लान् भन्ने कल्पनै थिएन– स्रोतको भनाइ छ । त्यसपछि अदालतले टीकापुर घटनामा दोषी करार गरेको व्यक्ति पार्टीको अध्यक्ष हुन सक्दैन भन्ने निवेदन रञ्जिताको डिजाइनमै निर्वाचन आयोगमा दर्ता गरिएको र लगत्तै आयोगले रेशमलाल र उनको केन्द्रीय कमिटीलाई अमान्य घोषित गर्दै त्यसअघिको रञ्जिताको कमिटीलाई नै मान्यता दिएको थियो ।

पछिल्लो पटक रेशमले अरुणलाई मन्त्री नबनाउन भनेको तर रञ्जिताले प्रचण्ड सरकारमा उनलाई नै पठाउन खोजेपछि विवाद सुदूरपश्चिम सरकार बनाउने र ढाल्नेमा प्रकट भएको हो । अरुणले रेशमले जबर्जस्ती दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गराएको बताउँदै आएका छन् । रेशमका बुवा पनि रञ्जिता हटाउने पक्षमा छैनन् । तर, बुवा नै आफूबाट टाढिएपछि गत साता रमेश बिक र रामलाल डगौराकै अगाडि रेशमले बुवा लालवीरलाई हेल्मेटले हानेको चर्चा छ । 

लालवीरले अहिले संघ सरकारमा राज्यमन्त्री मागेका छन् । यसअघि ०७४ को चुनावमा रेशम टिकापुर घटना देखाउँदै मधेसी दलबाट कैलाली क्षेत्र नम्बर १ मा  उम्मेदवार बन्दा बुवा लालवीर एमालेबाट सोही क्षेत्रको प्रदेश सभा क को उम्मेदवार बनी पराजित भएका थिए । 

रञ्जिताले आफूलाई रेशमले हटाउन खोजेपछि एकपछि अर्को निर्णय गरिरहेकी छन् । पछिल्लो पटक सुदूरपश्चिम प्रदेशकी सदस्य इन्दिरा गिरीलाई पदबाटै हटाइन् भने नेता घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई दलको नेता बनाएकी छन् ।

प्रदेश प्रमुखले मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि राजीनामा गरेकाले दुई वा दुईभन्दा बढी दलबाट मुख्यमन्त्री दावी गर्न आग्रह गर्दा उन्मुक्तिकै कारण नयाँ दावेदारी पेश भएको छैन । दावेदारीको समय वैशाख २ गतेसम्म रहेको छ ।

अहिले संघको सरकारको साझेदार एमाले, माओवादी र समाजवादीका २४ जना रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा एक जनाको मृत्यु भएको र इन्दिरा गिरीलाई हटाइएको छ ।

प्रदेश सभामा कांग्रेसका १८, उन्मुक्तिका ५, राप्रपाका १ र स्वतन्त्र १ जना छन् । उन्मुक्ति एक ठाउँमा आएपछि उसले मुख्यमन्त्री दाबी गर्ने कि केन्द्रको सहमतिअनुसार एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाइने भन्ने अन्योल पनि छ । 
 

टिप्पणीहरू