पूर्व एआईजीलाई कुट्ने एक पक्राउ,वकिलसामु उभ्याइँदै

पूर्व एआईजीलाई कुट्ने एक पक्राउ,वकिलसामु उभ्याइँदै
सुन्नुहोस्

राप्रपाका नेता डा. ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उनले किटानी जाहेरी दिएमध्येबाट एक जना समातिएका हुन् । प्रहरी वृत्त, महाराजगञ्जले निराजन बमलाई पक्राउ गरेको छ । 

उनलाई हिजो पक्राउ गरिएको वृत्तले जनाएको छ । वृत्तका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ । गत फागुन २७ गते काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा कार्यसम्पादन समितिको बैठक चलिरहँदा नेता श्रेष्ठमाथि कुटपिट भएको थियो । 

पटक–पटक भ्रष्टाचार मुद्दा खेप्दै आएका विवादित ठेकेदार तथा पार्टीका उपाध्यक्ष विक्रम पाण्डेमाथि बैठकमा प्रश्न गरेकै कारण उनी कुटिएका हुन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यालयअगाडि उनलाई समूह नै मिलेर कुटेको भिडियो सार्वजनिक भएको थियो ।

ज्यान मार्ने उद्देश्यले आफूलाई लखेटीलखेटी कुटेको भन्दै श्रेष्ठले घटनालगत्तै पाँच जनाविरुद्ध महाराजगञ्ज प्रहरीमा किटानी जाहेरी दिएका थिए । पाण्डेसहित उनका पिए एवं सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं ४ का क्षेत्रीय अध्यक्ष रिद्दिप्रताप जबरालगायत पाँच जनाविरुद्ध जाहेरी परेको थियो । 

जाहेरी परेको दुई महिनापछि प्रहरीले बल्ल एक जनालाई पक्राउ गरेको भन्दै श्रेष्ठले असन्तुष्टि जनाएका छन् । ‘म भखरै प्रहरीकहाँ पुगेर सनाखत गरेर आए । यत्रो महिनासम्म एक जना मात्र पक्राउ परेका छन् । पाण्डेविरुद्ध पनि जाहेरी परेको छ । तर, उहाँलाई कुनै कारबाही भएको छैन् । पार्टीले पनि कारबाही गरेको छैन् । उहाँ अहिलेपनि संसद जानुहुन्छ । अन्यलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइएको छैन्’, उनले गुनासो गरे । 

उनीमाथि कुटपिट गर्ने तीन नेतालाई पार्टीका अध्यक्ष लिङदेनले चार वर्षका लागि पार्टीबाट निलम्बित गरेका छन् । पाण्डेलाई जोगाएर लिङ्देनले बलायर, जबरा र बमलाई अनुशासनको कारबाही गरेका हुन् । सशस्त्र प्रहरीका पूर्वएआईजीसमेत रहेका उनले प्रहरीले कारबाहीमा ढिलासुस्ती गरिरहेको बताए ।

टिप्पणीहरू