विमानस्थलमा भीआइपीको आउजाउ बाक्लो

विमानस्थलमा भीआइपीको आउजाउ बाक्लो
सुन्नुहोस्

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अन्य दिनजस्तै आज पनि भीआइपीहरुको बाक्लो आवतजावत देखिएको छ । आन्तरिक र बाह्य दुबै उडानबाट काठमाडौँ आउने र बाहिरिने उच्च पदस्थहरुको विमानस्थलमा ओहोरदोहोर भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानै मोरङ पुग्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टरमा विहान १० बजे उहाँ विमानस्थलबाट मोरङको गोठागाउँका लागि उड्नुभएको हो । प्रधानमन्त्री आजै अपराह्न ३ बजे काठमाडौँ फर्किने कार्यक्रम छ । 

राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार तथा कांग्रेस नेता सुनिलबहादुर थापा भारतको राजधानी नयाँ दिल्ली जानुभएको छ । बिहान पौने ११ बजे इन्डिगो एयरको उडानद्वारा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगाना पनि हवाई मार्ग हुँदै आज विराटनगरतर्फ लाग्नुभएको छ । उहाँ यती एयरको जहाजमा बिहान साढे आठ बजे त्यता जानुभएको हो । 

यता, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल दिल्लीबाट काठमाडौँ फर्किंदै हुनुहुन्छ । नेपाल एयरको उडानबाट उहाँ अपराह्न साढे ४ बजे  त्रिभुवन विमानस्थल उत्रने कार्यक्रम छ । 

दिउँसो १ बजे रक्षा मन्त्री हरिप्रसाद उप्रेती नेपाली सेनाको स्काई ट्रकमा पोखरा जाने कार्यक्रम छ । पौने ४ बजे पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सिमरा जाँदै हुनुहुन्छ । बुद्ध एयरको जहाजमा त्यता जाने कार्यक्रम रहे पनि नेपालको फर्किने समय भने खुलेको छैन । 

पूर्वमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवाली बिहानै भैरहवा पुग्नुभएको छ । उहाँ बिहान ८ बजे बुद्ध एयरको जहाजमा काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

त्यस्तै, चीनको तिब्बत ब्यापार सहजीकरण समितिको बैठकमा सहभागी हुन ल्हासाबाट चिनियाँ उच्चस्तरीय टोली नेपाल आउंदै छ । याङ्ग रुई नेतृत्वको वार्ता टोली हिमालय एयरलाइन्सको जहाजमा टोली साढे १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रने कार्यतालिका छ ।
 

टिप्पणीहरू