अमेरिकी परियोजना कार्यान्वयननिम्ति अकस्मात बोलाइयो सिडिओहरुलाई

अमेरिकी परियोजना कार्यान्वयननिम्ति अकस्मात बोलाइयो सिडिओहरुलाई

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज गोल (एमसिसी) को नेपालस्थित कार्यालय एमसिएले राजधानी वरपरको केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भेला डाकेको छ । एमसिसीको विद्युत प्रशारण लाइन पर्ने आधा दर्जन जिल्लाका सिडिओलाई भोलि दिउँसो ४ बजे काठमाण्डौ बोलाइएको सरकारी उच्च स्रोतले बताएको छ । 

काठमाडौं,नुवाकोट, धादिङ,चितवन, मकवानपुर,नवलपुर, नवलपरासी,रुपन्देही, तनहुँ,स्याङ्जा,पाल्पाका प्रमुख जिल्ला अधिकारीहरुलाई अनिवार्य उपस्थितिका लागि गृह मन्त्रालयले निर्देशन दिएको स्रोतको दाबी छ ।

परियोजनाका दुई वटा प्रशारण लाइनले छुने जिल्लाका सिडिओहरुलाई समेत गरी दुई चरणमा बोलाइएको बुझिएको छ । एमसिएले आयोजना गर्न लागेको कार्यक्रममा सिडिओलाई निम्तो कसरी ? भन्ने जिज्ञासामा गृह मन्त्रालय स्रोत भन्छ, ‘एमसिएमा मन्त्रालयका सहसचिवको प्रतिनिधित्व भएकाले सोही आधारमा मन्त्रालयले यो भेलाको संयोजन गरेको हो ।’ भेला कुपण्डोलस्थित होटल हिमालयमा राखिएको छ ।

एमसिसी परियोजना कार्यान्वयनमा भएको ढिलाइलाई लिएर अमेरिकी अधिकारीहरुले नेपाली अधिकारीहरुसमक्ष गत फागुनमा चासो राखेका थिए । अमेरिकाको दक्षिण तथा मध्य–एशियाअन्तर्गत नेपाल,श्रीलंका, बङ्गलादेश,भुटान र माल्दिभ्स हेर्ने उप–सहायक मन्त्री अफ्रिन अख्तर नेतृत्वको टोलीले अर्थ मन्त्रालय पुगेर परियोजना निर्माणमा भएको विलम्बबारे गम्भीर चासो राखेको थियो ।

त्यसक्रममा एमसिसी परियोजनाको पछिल्लो अवस्था तथा निर्माण कार्यमा स्थानीय तथा राजनीतिक दलका तर्फबाट अवरोध भएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए । एमसिसी परियोजनामा आवद्ध कर्मचारीहरुलाई धम्की आएको विषयमा पनि छलफल भएको थियो ।

टिप्पणीहरू